यस दिन नेप्से परिसूचक २५.१६ अंक घटेर २८२१.१३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.७० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८४ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब १३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको १ लाख १ हजार ६०३ पटकको कारोबारमा १० अर्ब ९७ करोड २६ लाख ५४ हजार रुपैयाँबराबरको २ करोड ३३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर स्टकको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समाज लघुवित्त वित्तीय संस्था र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.८४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९६ करोड ७० लाख ९५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे ९० करोडको शेयर किनबेच भएको छ भने सगरमाथा जलविद्युत कम्पनीको करिब ३१ करोडको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.४३ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।