निरन्तर ९ कारोबार दिनको वृद्धिपछि नेप्सेमा करेक्सन

Mar 03, 2025 03:08 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ९ कारोबार दिनदेखि निरन्तर बढीरहेको नेप्सेमा यस दिन भने करेक्सन भएको हो।

सोमबार नेप्से परिसूचक १३.६२ अंक घटेर २८७६.६६ विन्दुमा झरेको छ। पछिल्ला ९ कारोबार दिनमा नेप्से परिसूचक करिब २१२ अंक बढेको छ। बजार बढेको मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन बजारमा करेक्सन भएको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ३.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३१ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन १४ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०० स्टकको १ लाख ३९ हजार ५५५ पटकको कारोबारमा १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँबराबरको ३ करोड १२ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ११४ रुपैयाँ २० पैसा बढेर प्रतिकित्ता १ हजार २५६ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। यस दिन समाज लघुवित्त वित्तीय संस्थाको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ३१८ रुपैयाँ ५० पैसा घटेर २ हजार ८६६ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ३८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे ७३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको करिब साढे ३६ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सर्वाधिक १.८८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट

Mar 07, 2025 10:35 AM

फागुन २३ गते, शुक्रबार, नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।