नेप्सेसँगै घट्यो कारोबार रकम

Sep 02, 2025 03:17 PM Merolagani



मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक १९.८९ अंक घटेर २७४१.४७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९८ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार ५ अर्ब १० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२३ स्टकको ८९ हजार ७७५ पटकको कारोबारमा ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार रुपैयाँबराबरको १ करोड ५ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन हिम स्टार उर्जा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। हिजोदेखि दोस्रो बजारमा कारोबारमा आएको यस कम्पनीको शेयरमूल्य यस दिन २६ रुपैयाँ ७० पैसा बढेर २९४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन मूल्य बढेका अरु स्टकहरुको वृद्धिदर भने साढे ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.४७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ७० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको २० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.९७ प्रतिशत घटेको छ। अरु उपसमूहहरुको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।

 



सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।