‘पर्ख र हेर’ को अवस्थामा नबिल बैंक, हेरौँ कम्पनी विश्लेषण

Dec 27, 2025 05:41 PM Merolagani



यस साता बैंकिङ्ग उपसमूहको परिसूचक ०.२० प्रतिशत घटेको छ। गत साता १३५२.६५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २.७१ अंक घटेर १३४९.९४ विन्दुमा झरेको छ। सोही उपसमूहको एक बैंक हो, नबिल बैंक लिमिटेड (NABIL)।

बैंकको शेयरमूल्य यस साता ४० पैसा घटेको छ। गत साता ४९९ रुपैयाँमा अन्तिम कारोबार भएको यस बैंकको शेयर, यस साता ४९८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ।

 

‘पर्ख र हेर’ को अवस्थामा

बैंकको शेयरमूल्य हाल ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। आगामी दिनमा बैंकको शेयरमूल्य उकालो लागेमा ५१५ देखि ५३५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यस्तै, ओरालो लागेमा भने ४५५ देखि ४७५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

अन्योलमा लगानीकर्ता

यस साता साप्ताहिक रुपमा बैंकको शेयरमूल्यले डोजी मैनबत्ती बनाएको छ। त्यस्तै, साताको अन्तिम कारोबार दिन पनि बैंकको शेयरमूल्यले डोजी मैनबत्ती नै बनाएको छ। यसले हाल लगानीकर्ताहरु बैंकको शेयरमूल्य बढ्छ कि घट्छ भन्ने अन्योलमा रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले बैंकको शेयरमा हालसम्म ६ वटा सिग्नल दिइसकेको छ। जसमध्ये ३ वटा सिग्नलमा लगानीकर्ताहरुले नाफा कमाएका थिए भए ३ वटा स्टकको स्टम लस गर्नु परेको थियो। हाल एआईले बैंकको शेयरमा कुनै सिग्नल देखाएको छैन।

कमजोर भोल्यूम

यस साता बैंकको भोल्यूम कमजोर रहेको छ। यस साता बैंकको दैनिक औषतमा ३३ हजार ६६१ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन बैंकको २० दिने औषत भोल्यूम ४३ हजार ५४२ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा यस साताको दैनिक औषत भोल्यूम २२.६९ प्रतिशत कम हो।

बुलिश क्रशओभर

प्राविधिक विश्लेषणको अर्को उपकरण एमएसिडीमा यस साताको मंगलबार बैंकको शेयरमूल्यले बुलिश क्रशओभर बनाएको छ। बैंकको एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेसँगै यस्तो क्रशओभर बनेको हो। यसले आगामी दिनमा बैंकको शेयरमूल्य वढ्ने संकेत गर्दछ। यद्यपि, यो नकारात्मक क्षेत्रमा बनेको हुनाले यसलाई बलियो सिग्नल मान्न नसकिने विश्लेषकहरुको भनाइ छ। साताको अन्तिम कारोबार दिन बैंकको हिस्टोग्राम नकारात्मक क्षेत्रमा बढेर सकारात्मक क्षेत्रमा पुगेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

यस साता बैंकको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले सो साता बैंकको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.२९ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १.०३ प्रतिशत र सञ्चालन मुनाफा १०.८४ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज भने समीक्षा अवधिमा ४५ करोड ७७ लाख रुपैयाँबाट बढेर ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १५ पैसा रहेको छ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ। बैंकले पहिलो त्रैमासको अन्त्यसम्ममा ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ८६ पैसा घटेर २५ रुपैयाँ ९७ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७२ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको मूल्य आम्दानी अनुपात १९.२० गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो २.०७ गुणा रहेको छ।

आधारभूत विश्लेषण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल बैंकको २७ करोड ५ लाख ६९ हजार ९७० कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत मूल्य ५१४ रुपैयाँ ९९ पैसा रहेको छ। त्यसैगरी, बैंकको ५२ हप्ताको उच्च मूल्य ५६२ रुपैयाँ रहेको छ भने न्यून मूल्य ४७१ रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको कुल बजार पूँजीकरण १ खर्ब ३४ अर्ब ९० करोड ६१ लाख ८७ हजार ४२ रुपैयाँ रहेको छ।

लाभांश इतिहास

गत आर्थिक वर्षको मुनाफाबाट बैंकले शेयरधनीहरुलाई कर सहित १२.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। सो लाभांश पारित गर्न बैंकले पुस २८ गते, सोमबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ४१ औँ वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते बुकक्लोज गर्दैछ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सन् १९८७/८८ मा पहिलो पटक १० प्रतिशत नगद लाभांश वितरण गरेको यस बैंकले सो पछिका वर्षहरुमा २ पटक शतप्रतिशत बोनस शेयर वितरण गरेको इतिहास भेट्न सकिन्छ। कम्पनीले सन् १९९४/९५ र १९९६/९७ मा शतप्रतिशत बोनस शेयर वितरण गरेको थियो। बैंकले सन् २००६/०७ मा १०४ प्रतिशत नगद लाभांश पनि वितरण गरेको थियो।

सन् १९८५/८६, १९८६/८७, १९९०/९१, १९९५/९६ बाहेकका वर्षहरुमा बैंकले आफ्ना शेयरधनीहरुलाई राम्रो लाभांश वितरण गर्दै आइरहेको छ। हालसम्म बैंकले २२ अर्ब ३१ करोड ४ लाख ९६ हजार ४२२ रुपैयाँ ३४ पैसाबराबरको बोनस शेयर र २० अर्ब ५ करोड ४४ लाख ५७ हजार ४८६ रुपैयाँ ९० पैसाबराबरको नगद लाभांश गरी कुल ४२ अर्ब ३६ करोड ४९ लाख ५३ हजार ९०९ रुपैयाँ २३ पैसाबराबरको लाभांश वितरण गरिसकेको छ।

हालै घाेषणा गरेकाे लाभांशभन्दा अघिका १४ वर्षमा भने बैंकले निम्न अनुसारको लाभांश वितरण गरेको थियो।

ब्रोकर ६ बाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ६ ले बैंकको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता बैंकको १२ हजार ४१५ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ५२ ले बैंकको ११ हजार ८२५ कित्ता शेयर खरिद गरेको छ। बैंकको शेयर सर्वाधिक बिक्री गर्ने ब्रोकर पनि ६ नम्बर नै रहेको छ। सो ब्रोकरले यस साता बैंकको ११ हजार ३८४ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर

फियर एण्ड ग्रीड मिटरमा बैंकको शेयर अहिले फियर जोनमा रहेको छ। यसले बजारमा लगानीकर्ताहरु बैंकको शेयरमूल्य अझै घट्छ भन्ने डर रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)