मार्जिन कारोबारको गाँठो फुक्याे : नेप्से सञ्चालक समितिद्वारा कार्यविधि स्वीकृत, सेवा सुरु गर्न बाटो खुला

Mar 25, 2026 09:08 PM Merogalani



सुवास निरौला

लामो समयको प्रतीक्षा र अन्योलपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिले 'मार्जिन कारोबार सम्बन्धी कार्यविधि' स्वीकृत गरेको छ। 

बुधवार बसेको सञ्चालक समितिको बैठकले उक्त कार्यविधिलाई अन्तिम रूप दिँदै पारित गरेसँगै अब शेयर बजारमा ब्रोकरमार्फत मार्जिन सुविधा लिन लगानीकर्ताका लागि बाटो खुलेको हो। 'आज बसेको बोर्ड बैठकले कार्यविधि पास गरेको छ ' नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँले मेरो लगानी सँग भने।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले 'मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२' जारी गरी गत फागुन १ गतेदेखि नै लागु गरे पनि नेप्सेले बनाउनुपर्ने 'आन्तरिक कार्य प्रक्रिया' (कार्यविधि) स्वीकृत नहुँदा यो सेवा ठप्प थियो। नेप्सेको 'कछुवा' गतिको कार्यशैली र सञ्चालक समितिमा देखिएको असमझदारीका कारण फागुनभरि र चैतको १० दिनसम्म पनि लगानीकर्ताले यो सुविधा पाउन सकेका थिएनन्। तर, ढिलै भए पनि नेप्सेले कार्यविधि पास गरेपछि बजारमा नयाँ उत्साह थपिने विश्वास गरिएको छ।

निर्देशिकाको दफा १४ अनुसार नेप्सेले यो कार्यविधि बनाउनुपर्ने अनिवार्य व्यवस्था थियो। अब कार्यविधि पास भएसँगै नेप्सेले आफ्नो कारोबार प्रणाली (TMS) मा मार्जिन कारोबारका लागि आवश्यक प्राविधिक व्यवस्था मिलाउनेछ। यससँगै योग्य ब्रोकरहरूले आफ्ना ग्राहकलाई मार्जिन सुविधा उपलब्ध गराउन सक्नेछन्।

निर्देशिका अनुसार २० करोड रुपैयाँ चुक्ता पूँजी भएका र राफसाफ सदस्यता लिएका ब्रोकरहरूले यो सेवा दिन पाउनेछन्। लगानीकर्ताले ३० प्रतिशत प्रारम्भिक मार्जिन राखेर ७० प्रतिशतसम्मको ऋण ब्रोकरबाटै पाएर शेयर किन्न सक्नेछन्। यसले बजारमा अर्बौँ रुपैयाँको नयाँ तरलता भित्र्याउने छ।

सबै सूचीकृत कम्पनीमा मार्जिन सुविधा पाइने छैन। निर्देशिकाको दफा ३ बमोजिम कम्तीमा २५ लाख कित्ता शेयर सूचीकृत भएका, नेटवर्थ चुक्ता पूँजीभन्दा बढी भएका र पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष नाफामा रहेका कम्पनीको शेयरमा मात्र यस्तो सुविधा उपलब्ध हुनेछ।

कार्यविधि पास भएपछि अब ब्रोकर कम्पनीहरूले निर्देशिकाको दफा १० बमोजिम छुट्टै 'मार्जिन कारोबार खाता' र 'मार्जिन कारोबार हित ग्राही खाता' खोल्ने प्रक्रिया अगाडि बढाउनेछन्। नेप्सेले आफ्नो सिस्टममा मार्जिन ट्रेडिङको 'विन्डो' खुला गरेपछि लगानीकर्ताले सिधै ब्रोकरमार्फत सुविधा लिन सक्नेछन्।

यसअघि नेप्से सञ्चालक समितिले कार्यविधि अड्काएर राख्दा बजारमा नकारात्मक सन्देश गएको थियो। धितोपत्र बोर्ड र नेप्सेबिचको समन्वय अभावले गर्दा फागुन १ गतेको समय सीमा नाघेर चैत ११ गते पुग्दा मात्र यो निर्णय भएको हो। नेप्सेले अब बिना विलम्ब यसलाई प्रणालीमा कार्यान्वयन गर्नुपर्ने चुनौती छ।

मार्जिन कारोबार सुरु भएपछि लगानीकर्ताले बैंकसम्म धाउनुपर्ने झन्झट कम हुने र बजारमा माग बढ्ने भएकाले यसलाई शेयर बजार सुधारको एउटा कोशे ढुङ्गा मानिएको छ। नेप्सेले आज गरेको यो निर्णयले सुस्ताएको बजारमा नयाँ तरंग ल्याउने आकलन गरिएको छ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।