समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारी संस्थाका ३ सय ७८ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको जनाएको छ। समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारीका ७ जना बचतकर्ताले आफ्नो रकम प्राप्त गरेका हुन्।
पहिलो चरणमा कम रकम बचत गरेका बचतकर्तालाई प्राथमिकता दिइएको छ। आगामी दिनमा बचत रकमको आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्तालाई पनि रकम फिर्ता गरिने समितिले जनाएको छ । हाल समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिको तथ्यांक छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्।
समितिले पाँच लाख रुपैयाँभन्दा कम बचत भएका व्यक्तिलाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी बचत भएका व्यक्तिलाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरेको जनाएको छ। कुल बचतकर्तामध्ये करिब १८ हजार जना मात्रै पाँच लाखभन्दा बढी बचत गर्ने रहेको बताइएको छ।