हाल ग्राण्ड भिटारा, भिक्टोरिया (अन्तर्राष्ट्रिय बजार) र इनभिक्टो जस्ता मोडलहरूमार्फत हाइब्रिड सेग्मेन्टमा १९ प्रतिशत बजार हिस्सा ओगटेको मारुतिले अब आफ्नै ‘इन–हाउस’ हाइब्रिड प्रविधि विकास गरिरहेको छ।

‘एचईभी’ कोडनेम दिइएको मारुतिको यो नयाँ हाइब्रिड प्रविधि टोयोटाको वर्तमान सिरिज-प्यारालल हाइब्रिड सिस्टमको तुलनामा बढी इन्धन किफायती र लागत-प्रभावी (सस्तो) हुने दाबी गरिएको छ। कम्पनीका अनुसार यो नयाँ इन्जिन प्रणाली पहिलो पटक ‘फ्रोक्स’ को फेसलिफ्ट मोडलमा प्रयोग गरिनेछ। यद्यपि, प्रिमियम र ठूला गाडीहरूमा भने मारुतिले टोयोटाकै हाइब्रिड प्रविधि जारी राख्नेछ।
सन् २०२६ मा आउँदैछ ७–सिटे प्रिमियम एसयूभी
मारुति सुजुकीले सन् २०२६ मा ‘वाइ १७’ कोडनेम दिइएको नयाँ ७–सिटे प्रिमियम एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ। यो गाडी लोकप्रिय मोडल ‘ग्राण्ड भिटारा’मा आधारित हुनेछ।
यसको बनावट ग्राण्ड भिटारासँग मिल्दोजुल्दो भए पनि बम्पर र लाइटिङमा ‘ई–भिटारा’ को झलक देखिनेछ। यो गाडी ग्लोबल प्लेटफर्ममा आधारित हुनेछ र यसको ह्विलबेस (पाङ्ग्रा बीचको दुरी) लामो हुनेछ, जसले गर्दा तेस्रो लाइनमा थप सिटहरू अट्नेछन्।
यसमा १.५ लिटरको पेट्रोल र १.५ लिटरकै पेट्रोल हाइब्रिड पावरट्रेन रहनेछ। ग्राहकले म्यानुअल, अटोमेटिक र अल-ह्विल ड्राइभको विकल्प समेत पाउनेछन्।
ग्राण्ड भिटाराको नयाँ ‘फेसलिफ्ट’ अवतार
सन् २०२६ मै मारुतिले आफ्नो सफल मोडल ग्राण्ड भिटारालाई ‘फेसलिफ्’ गरी नयाँ स्वरूपमा ल्याउँदैछ। यसमा इन्जिन त पुरानै रहनेछ, तर बाहिरी र भित्री बनावटमा महत्वपूर्ण परिवर्तनहरू गरिनेछ।
नयाँ ग्रिल, परिमार्जित फ्रन्ट र रियर बम्पर, अपडेटेड एलईडी लाइटिङ र नयाँ डिजाइनका एलोय ह्विलहरू यसमा देखिनेछन्। गाडीभित्र पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र सुरक्षाका लागि ‘लेभल–२ एडास’ सुइट थपिनेछ।
मारुति सुजुकीको यो नयाँ रणनीतिले हाइब्रिड गाडीहरूलाई आम सर्वसाधारणको पहुँचमा पुर्याउन मद्दत गर्ने र बजारमा टाटा तथा हुण्डाई जस्ता प्रतिस्पर्धीहरूलाई कडा टक्कर दिने अनुमान गरिएको छ।