विश्वभरि मौद्रिक नीति जारी गर्ने आफ्नै स्थापित चलनहरू छन् र यसको इतिहास नियाल्दा केही निकै रोचक,अचम्मका र रमाइला घटनाहरू घटेका छन्। त्यसमध्ये सन् ९० को दशकको मध्येमा भएको एउटा घटना विश्वको मौद्रिक नीतिको लागि अहिलेसम्मकै सबैभन्दा अनौठो घटना मानिन्छ ।
सन् १९८७ देखि २००६ सम्म अमेरिकी फेडका अध्यक्ष रहेका एलन ग्रीन्सप्यानको एउटा रमाइलो चर्चा हुन्थ्यो।
केन्द्रीय बैंकका गभर्नरहरूले प्रयोग गर्ने भाषालाई सेन्ट्रल बैंक स्पिक वा फेडस्पिक भनिन्छ । उनीहरू यति घुमाउरो भाषा बोल्छन् कि कसैले स्पष्ट अर्थ लगाउनै सक्दैन।
एकपटक एलन ग्रीन्सप्यानले ठट्टा गर्दै भनेका थिए— यदि मैले बोलेको कुरा तपाईंले प्रष्टसँग बुझ्नुभयो भने, सम्झनुस् मैले कतै गल्ती गरेँ ।
बजार उनीहरूको बोलीमा यति संवेदनशील हुन्थ्यो कि सन् १९९५,९६ मा एकपटक भाषण गर्दागर्दै गभर्नरले घाँटी सफा गर्न खोक्दा पनि लगानीकर्ताहरूले, ओहो केही संकट आउँदैछ कि क्या हो भनेर डरले शेयर बेच्न थालेका थिए र बजार घटेको थियो ।
त्यसबेला बजारका विश्लेषकहरूले उनको त्यो खोकीलाई यसरी व्याख्या गरे-गभर्नरले अर्थतन्त्रको सकारात्मक पाटो बोलिरहँदा अचानक खोके, यसको मतलब उनी भित्रभित्रै डराइरहेका छन् वा अर्थतन्त्रमा हामीले नदेखेको कुनै ठूलो समस्या (जस्तै मन्दी वा वित्तीय संकट) आउँदैछ र उनले लुकाइरहेका छन्।
यो विश्लेषण मिडियामा आउने बित्तिकै लगानीकर्ताहरूमा त्रास फैलियो र बजारमा तीव्र शेयर बिक्री सुरु भयो, जसले गर्दा केही मिनेटमै बजार सूचक ओरालो लाग्यो।
र, त्यसको असर केवल अमेरिकी बजारमा मात्र परेको थिएन, विश्वका धेरै बजारहरुमा परेको थियो ।