सञ्चारगृह बाहिर देखिएका शंकास्पद गतिविधिप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण: छानबिन र सुरक्षाको माग

Jul 13, 2026 05:24 PM Merolagani



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको र सञ्चारकर्मीहरूलाई मनोवैज्ञानिक दबाब दिन खोजिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आइतबार पार्टीका महामन्त्री विपिन कुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार गरेको उल्लेख गरेका छन्।

रास्वपाले राज्यको चौथो अंगका रूपमा रहेका सञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा काम गर्ने वातावरणमा अवरोध पुर्‍याउने नियतले यस्ता रहस्यमय गतिविधि गरिएको बताएको छ। विज्ञप्तिमा भनिएको छ, "सञ्चारगृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई किमार्थ स्वीकार्य छैनन्।"

पार्टीले यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गर्न माग गरेको छ। शंकास्पद गतिविधिमा संलग्न व्यक्ति वा समूहको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र सञ्चारमाध्यमहरूको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न रास्वपाले नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग जोडदार माग गरेको छ।

विज्ञप्ति मार्फत रास्वपाले सम्पूर्ण सञ्चार जगत्‌लाई कुनै पनि दबाब वा त्रासमा नपरी व्यावसायिक धर्म निर्वाह गर्न र सत्यतथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन अपिल गरेको छ। पार्टीले आफू सदैव पूर्ण प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।