“करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्,“ उनले भने, “कर प्रशासनमा सुधार भएछ र कर तिर्न बोझ छैन भन्ने सन्देश बजारमा जानुपर्छ। उनले जबरजस्ती र त्रास देखाएर नभई स्वेच्छिक कर अनुपालनमार्फत करको दायरा विस्तार गर्न कर्मचारीहरूलाई आग्रह गरे।
कर प्रशासनलाई चुस्त बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिको अभाव भए जानकारी गराउन उनले भनेका छन्। उनले अब्बल काम गर्ने र राज्यलाई लाभ दिलाउने कर्मचारीलाई प्रोत्साहन गर्ने बताए। राजस्वको १६ खर्बको लक्ष्य पूरा गर्न करदातालाई सहजीकरण गर्नुपर्ने उनको भनाइ छ।
बजेटमा दिइएको छुट कार्यान्वयन गर्न, करदाता सचेतना वृद्धि गर्न र कारोबारलाई डिजिटल बनाउन उनले विभागीय नेतृत्वलाई निर्देशन दिएका छन्। मुलुकलाई ग्रे लिस्ट बाट निकाल्न सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनको तर्फबाट मिहीन ढङ्गले हेर्न उनले आग्रह गरे। यस्तै, उनले कर्मचारीको वृत्तिविकास कामको आधारमा हुने स्पष्ट पार्दै सरुवाका लागि सोर्सफोर्स नलगाउन कर्मचारीहरूलाई सचेत गराएका छन्।