नेपाल राष्ट्र बैंकले क्रस-कन्ट्री अर्थात सीमानापार भुक्तानी प्रणालीको ढोका खोलेपछि नेपालको पर्यटन र अर्थतन्त्रमा डिजिटल क्रान्ति सुरु भएको छ ।
भारतीय पर्यटकका लागि युपीआईको साथ
नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरूका लागि युनिफाइड पेमेन्ट्स इन्टरफेस अर्थात युपीआई अहिले सबैभन्दा ठूलो सहजकर्ता बनेको छ । नेपालका पसल,होटल र क्याफेहरूमा राखिएका क्युआर कोड स्क्यान गरेर भारतीय पर्यटकले आफ्नो बैंक खाताबाट सीधै भुक्तानी गर्न सक्छन् । नेपाल राष्ट्र बैंकको पेमेन्ट सिस्टम ओभरसाइट रिपोर्ट,२०२४/२५ अनुसार यो प्रणाली निकै लोकप्रिय बनेको छ । एक आर्थिक वर्षमा ९ लाख ८१ हजारभन्दा बढी कारोबारमार्फत करिब २ अर्ब ६९ करोड रुपैयाँभन्दा बढीको भुक्तानी युपीआईमार्फत भएको छ। यसले गर्दा पर्यटकहरूले मुद्रा सटहीको झन्झटबाट मुक्ति पाएका छन् ।

चिनियाँ पर्यटकको डिजिटल रोजाइ
भारतीय पर्यटकसँगै चिनियाँ पर्यटकका लागि पनि अलि-पे,अलि-पे प्लस, युनियन पे, र वी-च्याट पे जस्ता सेवाहरू वरदान सावित भएका छन् । आर्थिक वर्ष २०२४/२५ मा चिनियाँ वालेट तथा भुक्तानी प्रणालीहरूबाट मात्रै उल्लेख्य कारोबार भएको छ । रिपोर्ट अनुसार वी-च्याट प्रयोगकर्ताहरूले ५ हजार ७०१ पटक कारोबार गरेका छन् जसको मूल्य ८ करोड ४५ लाख ३० हजार रुपैयाँ रहेको छ। त्यस्तै, अलि-पेमार्फत ६ हजार १०२ पटक कारोबार भएको छ र यसको कुल मूल्य ८ करोड ९८ लाख ८० हजार रुपैयाँ पुगेको छ। यसैगरी, चिनियाँ डिजिटल प्रणाली अन्तर्गत युनियन पे मार्फत १२५ पटक कारोबार हुँदा करिब १० लाख १ हजार रुपैयाँ बराबरको भुक्तानी भएको छ। यी सबै अन्तरदेशीय माध्यमहरूले समग्रमा २ अर्ब ८६ करोड ८७ लाख ९० हजार रुपैयाँभन्दा बढीको कारोबार गरेका छन्। पर्यटन व्यवसायीहरूका अनुसार, यो सुविधाले गर्दा चिनियाँ पर्यटकले नेपालमा गर्ने खर्चको दायरा बढेको छ र उनीहरूको खर्च गर्ने शैली पनि डिजिटलमय बनेको छ ।
डिजिटल भुक्तानी र अर्थतन्त्रमा प्रभाव
नेपाल राष्ट्र बैंकका अनुसार हाल नेपालभर क्युआर कोड प्रयोग गर्ने मर्चेन्टहरूको संख्या करिब २९ लाख पुगिसकेको छ। सीमानापार डिजिटल भुक्तानीको यो अभ्यासले मुख्यतया दुईवटा फाइदा पुर्याएको छ । पहिलो, मुद्रा सटही दर र नगद बोक्ने जोखिमबाट पर्यटक मुक्त भएका छन् र दोस्रो, डिजिटल भुक्तानी बढ्दा कारोबार पारदर्शी बनेको छ जसले समग्र अर्थतन्त्रलाई औपचारिक प्रणालीमा ल्याउन मद्दत गरेको छ ।
डिजिटल कारोबार बढ्दै जाँदा नेपाल राष्ट्र बैंकले सुरक्षामा पनि उत्तिकै ध्यान दिएको छ। भुक्तानी प्रणालीको दुरुपयोग रोक्न बैंकले ग्राहक पहिचान विवरण अर्थात केवाइसी र अनुपालनमा कडाइ गरेको छ । डिजिटल वालेटको दुरुपयोग गरी हुण्डी जस्ता गैरकानुनी गतिविधि हुन नदिन बैंकले नियमित निगरानी र कारबाही गरिरहेको छ ।
नेपालको डिजिटल भुक्तानी प्रणालीको यो विकासले पर्यटकहरूको नेपाल बसाइलाई थप सरल र सुरक्षित बनाएको छ । यसले गर्दा आगामी दिनमा पर्यटन र व्यापारका नयाँ ढोकाहरू खुल्ने र नेपाल पूर्ण रूपमा क्यासलेस अर्थतन्त्रतर्फ अग्रसर हुने अपेक्षा गरिएको छ ।