बजेट नआउँदा विकास ठप्प भएपछि मधेशका चार स्थानीय तहमा केन्द्रको सर्जिकल इन्टरभेन्सन

Aug 11, 2026 11:32 AM Merolagani



स्थानीय तहमा जनप्रतिनिधिहरूबीचको खिचातानीका कारण बजेट आउन नसक्दा नागरिक सेवा र विकास निर्माण अलपत्र परेका मधेश प्रदेशका चार नगरपालिकामा संघीय सरकारले सिधै हस्तक्षेप गर्ने भएको छ । चालु आर्थिक वर्षको आधा समय बितिसक्दा समेत नगरसभामा बजेट पेस गर्न नसकेका धनुषा र रौतहटका नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उच्चस्तरीय टोली खटाउन लागेको हो ।

बजेट अभावमा कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता र विकासका योजनाहरू ठप्प भएपछि मन्त्रालयले सहसचिवको नेतृत्वमा एक्सन टोली पठाउने निर्णय गरेको हो । टोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल नगरपालिका संघका प्रतिनिधिहरू समेत सहभागी हुनेछन् । यसले यो भ्रमण केवल सामान्य समन्वय मात्र नभई सुशासन कायम गराउने कडा कदमको रूपमा हेरिएको छ ।

यो टोलीले धनुषाको कमला नगरपालिका तथा रौतहटका गरुडा, फतुवा विजयपुर र मौलापुर नगरपालिकामा पुगेर जनप्रतिनिधि र सरोकारवालासँग आमनेसामने छलफल गर्नेछ । लामो समयदेखि देखिएको गतिरोध अन्त्य गरी तत्काल बजेट ल्याउने वातावरण बनाउन टोलीले स्थलगत सहजीकरण गर्ने मन्त्रालयको भनाइ छ ।