यस दिन रसुवागढी हाइड्रोपावर कम्पनी र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य करिब १३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन माथिल्लो मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी घटेको छ भने साञ्जेन जलविद्युत कम्पनीको शेयरमूल्य ११ प्रतिशतभन्दा बढी घटेको छ।
बुधबार नेप्से परिसूचक पनि उच्च अंक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ३५.९२ अंक घटेर २५५८.३५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.०० अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब १० करोड ९७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४८ स्टकको ६१ हजार ४४२ पटकको कारोबारमा ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार रुपैयाँबराबरको १ करोड ३५ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सर्वोत्तम पेन्ट्सको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य १५८ रुपैयाँ २० पैसा बढेर १ हजार २१२ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे १० प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन चिलिमे हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ५६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सानिमा मिडिल तमोर हाइड्रोपावरको करिब साढे १९ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने साहस उर्जाको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.९० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक करिब ३ प्रतिशत घटेको छ भने वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।