बिहीबार नेप्से परिसूचक १.०४ अंक घटेर २५५७.३१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४८ स्टकको ५२ हजार ५७५ पटकको कारोबारमा ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार रुपैयाँबराबरको १ करोड ६ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सर्वोत्तम पेन्ट्सको शेयर निरन्तर ११ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य १८१ रुपैयाँ ९० पैसा बढेर १ हजार ३९४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन घोराही सिमेन्ट इण्डष्ट्रिको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने सोनापुर मिनरल्स एण्ड आयलको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ९.४५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ७५ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन नेपाल एसबिआई बैंकको साढे १६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने चिलिमे हाइड्रोपावर कम्पनीको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन आठ उपसमूहको परिसूचक बढेको छ भने पाँच उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ३.१२ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।