तर अहिले एउटा यस्तो प्रणाली ती सबैभन्दा फरक बाटोबाट अगाडि बढिरहेको छ—ब्राजिलको ‘पिक्स’।
ब्राजिलको केन्द्रीय बैंक, ब्याँको सेन्ट्रल बैंक ब्राजिलले सञ्चालन गरेको पिक्स अहिले आफ्नै देशभित्रको पैसा पठाउने माध्यम मात्र रहेन, यसकाे लोकप्रियता युरोप र अमेरिकामा यति धेरै बढिरहेको छ कि सन् २०२८ को जनवरीसम्म यो विश्वको डिजिटल भुक्तानीको प्रमुख माध्यम बन्न सक्ने दावी आर्थिक क्षेत्रका विश्लेषकहरुले गर्न थालेका छन् । ब्राजिलको केन्द्रीय बैंक र युरोपेली केन्द्रीय बैंक बीच सहकार्यको लागि छलफल शुरु भएको छ ।
पिक्स के हो ?
पिक्स सन् २०२० मा ब्याँको सेन्ट्रल बैंक ब्राजिलले सुरु गरेको तत्काल डिजिटल भुक्तानी प्रणाली हो। यसको सबैभन्दा ठूलो विशेषता भनेको दिन–रात जुनसुकै समयमा बैंक खाताबाट अर्को व्यक्तिको वा व्यवसायको खातामा तत्काल पैसा पठाउन सक्नु हो।

कार्डबाट पैसा तिर्दा सामान्यतया कार्ड सञ्जाल, बैंक र व्यापारीबीच विभिन्न तहमा कारोबार हुन्छ। पिक्सले भने बैंकिङ प्रणालीभित्रै तत्काल भुक्तानीका लागि साझा पूर्वाधार उपलब्ध गराउँछ। व्यक्तिगत प्रयोगकर्ताका लागि कारोबार निःशुल्क हुनु र व्यवसायीका लागि परम्परागत कार्ड भुक्तानीभन्दा कम लागतमा कारोबार सम्भव हुनु यसको लोकप्रियताको एउटा कारण हो।
पाँच वर्षमै यस्तो लोकप्रिय कसरी भयो ?
पिक्सको विस्तार असाधारण छ। ब्राजिलको केन्द्रीय बैंकले नियमित रूपमा यसको कारोबार तथ्यांक प्रकाशित गर्छ। सन् २०२४ मा मात्रै पिक्सबाट ६८.७ अर्ब कारोबार भएको तथ्यांक सार्वजनिक भएको थियो।
अझ रोचक कुरा, पिक्स केवल ठूला शहर र धनी वर्गको भुक्तानी माध्यम बनेन। साना पसल, सडक व्यापारी, ट्याक्सी चालकदेखि ठूला व्यवसायसम्म यसको प्रयोग हुन थालेको छ।
यसले एउटा पुरानो प्रश्नलाई उल्टाइदिएको छ—डिजिटल भुक्तानीमा अगाडि बढ्नका लागि निजी अमेरिकी कम्पनीको सञ्जालमै निर्भर हुनुपर्छ भन्ने छैन ।
स्मरण रहोस् भिषा र मास्टर कार्ड दुवै अमेरिकी कम्पनीहरुबाट उत्पादित डिजिटल भुक्तानी प्रणाली हुन् । सन् १९५८ मा Bank of America ले ‘BankAmericard’ नामको कार्ड सुरु गरेको थियो। त्यतिबेला कार्ड अहिलेको जस्तो विश्वव्यापी सञ्जाल थिएन। Bank of America ले आफ्ना ग्राहकलाई ऋण सुविधा उपलब्ध गराउने कार्डका रूपमा यसको प्रयोग सुरु गरेको थियो । पछि अन्य बैंकलाई पनि यसको सञ्जालमा जोड्दै लगियो।
सन् १९७६ मा BankAmericard को नाम परिवर्तन गरेर Visa राखियो। यसरी एउटा अमेरिकी बैंकको स्थानीय कार्ड कार्यक्रम क्रमशः विश्वव्यापी भुक्तानी सञ्जालमा परिणत भयो।
मास्टरकार्डको कथा चाहिँ अलि फरक छ।
BankAmericard को सफलता देखेपछि अमेरिकाका अरू बैंकहरूले पनि त्यस्तै साझा कार्ड सञ्जाल बनाउन खोजे। सन् १९६६ मा विभिन्न अमेरिकी बैंक तथा बैंक–कार्ड समूह मिलेर ‘Interbank Card Association (ICA)’ स्थापना गरे। त्यसपछि यसले Master Charge नामको कार्ड सञ्जाल विकास गर्यो र पछि यही प्रणाली आजको Mastercard बनेको हो।
भिसाको आर्थिक वर्ष २०२५ को तथ्यांकअनुसार यसको सञ्जालमा २५७.५ अर्ब कारोबार प्रशोधन भएका थिए। यसलाई दैनिक औसतमा हिसाब गर्दा करिब ७० करोड ५५ लाख कारोबार प्रतिदिन हुन्छ।
मास्टरकार्डले पनि हरेक वर्ष अर्बौं कारोबार आफ्नो सञ्जालबाट प्रशोधन गर्छ। कम्पनीले यसलाई ‘switched transactions’ कारूपमा मापन गर्छ—अर्थात् Mastercard को सञ्जालबाट सुरु भएर प्रशोधन भएका कारोबार।
यसको अर्थ संसारभर हरेक सेकेन्ड हजारौँ पटक यी सञ्जालमार्फत कारोबारको सूचना आवतजावत भइरहेको हुन्छ। तर कति बराबरको कारोबार मास्टरकार्डमार्फत हुने गरेको छ भनेर अहिलेसम्म तथ्याँक सार्वजनिक गरिएको छैन ।
पिक्सको लोकप्रियताले अमेरिकालाई धक्का
ब्राजिलको केन्द्रीय बैंकले विदेशी समकक्ष संस्थासँग पिक्ससम्बन्धी ६५ वटा सूचना आदानप्रदान सम्झौता गरिसकेको छ। यसको अर्थ पिक्समा अन्य देशको चासो केवल ब्राजिलको घरेलु प्रणाली हेर्ने तहमा सीमित छैन। यही विषय अहिले आर्थिकभन्दा बाहिर गएर भूराजनीतिक बहस समेत बन्न थालेको छ।
ब्राजिलले पिक्सलाई अन्य देशका तत्काल भुक्तानी प्रणालीसँग जोड्ने सम्भावना खोजिरहेको बेला अमेरिकामा भने यसले अमेरिकी कम्पनीहरूको विश्वव्यापी भुक्तानी व्यवसायमा पार्न सक्ने प्रभावबारे चासो बढेको छ। Reuters का अनुसार पिक्सको विस्तारलाई लिएर ब्राजिल र अमेरिकाबीच समेत तनावको एउटा विषय बनेको छ। पिक्सले अमेरिकी दबदबामा रहेको डिजिटल भुक्तानी प्रणालीलाई विश्वभर नै चुनौति दिइरहेको र पिक्सको अगाडि भिसा र मास्टर कार्ड क्रमशः कमजोर बन्दै गएको विश्लेषण गर्न थालिएको छ ।
त्यसैले पिक्सलाई केवल ब्राजिलको सफल डिजिटल भुक्तानी प्रणालीभन्दा पनि विश्वको भावी भुक्तानी युद्धको एउटा सम्भावित नमुनाका रूपमा हेर्न थालिएको हो।