शेयर बजारमा बैंकिङ समूहका कम्पनीमध्ये कम मूल्य भएका शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। विशेषगरी लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको शेयरमा उल्लेख्य कारोबार भएको छ। सोमबार भएको कारोबारको आधारमा बैंकिङ सेक्टरका १९ वटा कम्पनी कारोबारमा आएका छन्। जस मध्येमा १७ वटा बैंकको शेयर मूल्य बढेको छ भने दुई वटाको घटेको छ।
सोमबारको बजारमा लक्ष्मी सनराइज बैंकको शेयर मूल्य सर्वाधिक बढेको छ । यस बैंकको शेयर मूल्य ३.२१ प्रतिशतले बढेर २६७ रुपैयाँ कायम भएको छ। लक्ष्मी सनराइजको पाँच लाख ८० हजार ९३६ कित्ता शेयर कारोबार भएको छ। कुमारी बैंकको शेयर मूल्य २.२५ प्रतिशत वृद्धि भएको छ । यस बैंकको १० लाख ६८ हजार ९८७ कित्ता शेयर कारोबार भएको छ। यसबैंकको प्रतिकित्ता २३६ रुपैयाँ २० पैसा कायम भएको छ। त्यस्तै, ग्लोबल आइएमई बैंकको शेयर मूल्य प्रतिकित्ता २४५ रुपैयाँ ४० पैसा पुगेको छ। अघिल्लो मूल्यको तुलनामा २० पैसाले बढेको बैंकको शेयरमा ०.०८ प्रतिशतको वृद्धि भएको छ। मूल्यमा सामान्य वृद्धि भएतापनि बैंकको चार लाख ८७ हजार १८९ कित्ता शेयर कारोबार भएको छ।
प्राइम कमर्सियल बैंकको शेयर मूल्य २६८ रुपैयाँ पुगेको छ। उक्त बैंकको शेयर मूल्य १.१३ प्रतिशतले बढेको छ। बैंकको चार लाख ६५ हजार ९५८ कित्ता शेयर कारोबार भएको छ। साथै, प्रभु बैंकको शेयर मूल्य १.७७ प्रतिशतको वृद्धि भई १८९ रुपैयाँ ९० पैसा कायम भएको छ। उक्त बैंकको तीन लाख २३ हजार ५९९ कित्ता शेयर कारोबार भएको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शेयर मूल्य पनि १.०३ प्रतिशतले बढेर १९६ रुपैयाँ कायम भएको छ। बैंकको दुई लाख ४६ हजार ९१३ कित्ता शेयर कारोबार भएको छ।
त्यसैगरी, हिमालयन बैंकको शेयर मूल्य २.३२ प्रतिशतको वृद्धि भई १९८ रुपैयाँ ७० पैसा पुगेको छ। माछापुच्छ्रे बैंकको शेयर मूल्य २६२ रुपैयाँ ५० पैसा कायम भएको छ। उक्त बैंकको मूल्य तीन रुपैयाँ ७० पैसाले बढ्दा १.४३ प्रतिशतको वृद्धि भएको छ। नबिल बैंकको शेयर मूल्य भने प्रतिकित्ता ५३७ रुपैयाँ १० पैसा छ। मूल्य ९० पैसाले बढेको बैंकको शेयरमा ०.१७ प्रतिशतको वृद्धि भएको छ।यसैगरी, कृषि विकास बैंकको शेयर मूल्य ३१७ रुपैयाँ ८० पैसा, नेपाल बैंकको ३०० रुपैयाँ १० पैसा, एनआईसी एसिया बैंकको ३२० रुपैयाँ ४० पैसा, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६६९ रुपैयाँ र नेपाल एसबीआई बैंकको ४१९ रुपैयाँ कायम भएको छ। यी बैंकको शेयर मूल्य ३०० रुपैयाँभन्दा माथि रहेर कारोबार भएका छन्। आजको बजारमा एभरेष्ट बैंकको शेयर मूल्य ०.४२ प्रतिशत र सानिमा बैंकको शेयर मूल्य ०.२७ प्रतिशतले घटेको हो।
कुनै एकदिन मात्रै कारोबार भएको आधारमा लगानीकर्ताको आकर्षण बढेको पुष्टि नभएतापनि पछिल्लो समय बैंक क्षेत्रका कम्पनीमा लगानीकर्ताहरुको ध्यान खिचेको छ। बैंकलाई विशेष गरी आधार भूतरुपमा बलिया कम्पनीको रुपमा बुझ्ने गरिएको छ। बैंकको शेयर मूल्य तुलनात्मक रुपमा सस्तो हुनुले पनि बैंकको शेयरले लगानीकर्ताको ध्यान खिचेको विश्व रेग्मीले बताए। बैंकको वित्तीय विवरण, लाभांश इतिहास तुलनात्मक रुपमा राम्रो हुने उनको बुझाईछ।
त्यसैगरी, बैंकको शेयरमा मार्जिन कर्जा परिचालन गर्न सकिन्छ। बैंकिङ क्षेत्रको स्थायित्व र नियामकीय निगरानी र सुशासनमा रहेकाले पनि सुरक्षित लगानीकर्ताले बैंक रोज्ने गरेको रेग्मीले बताए। यद्यपि, शेयर मूल्य कम हुँदैमा बैंकको वित्तीय अवस्था बलियो वा लगानी सुरक्षित हुन्छ भन्ने निश्चित भने हुदैन। धेरै कुराको विश्लेषण गरेर लगानीको निणर्य लिनुपर्ने उनको बुझाई छ।
सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार र बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशत बढेको हो। विकास बैंक, वित्त र जीवन बीमा उपसमूहको परिसूचक सामान्य रुपमा सकारात्मक भएको छ। यस दिन होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंकले घटेको छ।