नेप्सेमा दीर्घकालीन लगानी गर्नेहरूले कमाउँदैनन् भन्नेहरूलाई तथ्याङ्कसहितको जवाफ

Oct 27, 2026 05:59 AM Merolagani



ब्लू चिपमा भन्दा आलु चिपमा निरन्तर र दीर्घकालीन लगानी गर्नेले झन् मनग्य कमाउने तथ्याङ्कले देखियो।

(१९ अगस्ट २०२१ देखि १६ अक्टोबर २०२६ सम्मको तथ्याङ्कमा आधारित विश्लेषण)

 दिपेन्द्र पाण्डे

धेरै लगानीकर्ता भन्छन्, नेपाली शेयर बजारमा भ्यालु इन्भेस्टिङले काम गर्दैन र लामो समय शेयर राखेर कमाइँदैन। यो कुरा सही हो कि होइन, विचारले होइन, तथ्याङ्कले जाँच्नु राम्रो हुन्छ।

यस लेखको प्रश्न सरल छ: कसैले बजारको सबैभन्दा माथिल्लो बिन्दुमा अर्थात् १९ अगस्ट २०२१ मा नेप्से ३,२२७.११ अंक पुग्दा लगानी सुरु गरेको भए र १६ अक्टोबर २०२६ सम्म नियमित शेयर किनिरहेको भए, आज उसको प्रतिफलको अवस्था कस्तो हुन्थ्यो?

परीक्षण कसरी गरियो?

१९ अगस्ट २०२१ मा नेप्से ३,२२७.११ अंकसम्म पुगेर ३,१८०.६६ मा बन्द भयो। यो नेप्सेको अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दु हो। पाँच वर्षपछि, १६ अक्टोबर २०२६ मा नेप्से २,६३४.१७ मा थियो। अर्थात्, बजार त्यो शिखरभन्दा १७.१८% ले तल थियो।

यही कठिन समयका लागि दुई काल्पनिक लगानीकर्ता लिइयो:

  • लगानीकर्ता A (हरेक महिना किन्ने): भाउ नहेरी हरेक नेपाली महिनाको अन्तिम कारोबार दिनमा प्रत्येक कम्पनीको १० कित्ता किन्छन्। १९ अगस्ट २०२१ देखि १६ अक्टोबर २०२६ सम्म, अर्थात् करिब ५ वर्ष २ महिनामा, उनी ६३ पटक किन्छन्। यसरी प्रत्येक कम्पनीको ६३० कित्ता जम्मा हुन्छ।
  • लगानीकर्ता B (सपोर्टमा किन्ने): उही अवधिमा उही ६३० कित्ता किन्छन्। तर भाउ बलियो सपोर्टमा आएका दिनमा मात्र, बराबर बाँडेर।

परीक्षण सुरु हुँदा नेप्सेमा करिब २२० कम्पनी थिए। बीचमा मर्जर भएका वा बजारबाट हटेका कम्पनीको पाँच वर्षको पूरा हिसाब मिलाउन सकिँदैनथ्यो, त्यसैले तिनलाई हटाइयो। धेरै कम कारोबार हुने NLO र BNL पनि हटाइयो। अन्त्यमा १४५ कम्पनी अध्ययनमा परे।

पैसा एकैपटक नलगाई पाँच वर्षभरि थोरै-थोरै गरेर लगाइएको छ। त्यसैले कुन रकम कति समय लगानीमा रह्यो भनेर हिसाब गर्ने XIRR विधि प्रयोग गरिएको छ। विस्तृत नियम लेखको अन्त्यमा "अध्ययन विधि" मा छन्।

पहिलो नतिजा: भाउ नहेरी हरेक महिना किन्दा

नेप्सेको शिखरबाट सुरु गरेर, कुनै विश्लेषण नगरी हरेक महिना किन्दा पनि १४५ मध्ये ९० कम्पनी (६२%) ले सकारात्मक वार्षिक प्रतिफल दिए। बाँकी ५५ कम्पनी (३८%) घाटामा रहे। प्रत्येक कम्पनीको नतिजा तलको चार्ट १ मा छ।

सबैभन्दा धेरै प्रतिफल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट (NRN) ले दियो: वार्षिक प्रतिफल ३४.९३%। त्यसपछि सीईडीबी होल्डिङ्स (CHDC) ३०.७६%, आँखु खोला जलविद्युत (AKJCL) २७.६७% र राधी विद्युत (RADHI) २६.३८% छन्। सबैभन्दा कमजोर रसुवागढी हाइड्रोपावर (RHPL) रह्यो, जसको वार्षिक प्रतिफल -२३.७७% छ।

सबै १४५ कम्पनीलाई एउटै पोर्टफोलियो मान्दा रु. १०.६२ करोडको लगानी लाभांशसहित रु. १२.१५ करोड पुग्यो। यो कुल १४.४३% र वार्षिक ५.४१% प्रतिफल हो। बजारको शिखरबाट सुरु गरेर एकपटक पनि चार्ट वा वित्तीय विवरण नहेर्ने लगानीकर्ताले पनि यति कमाए।

दोस्रो नतिजा: मेजर सपोर्टमा मात्र किन्दा

पहिलो परीक्षणमा भाउलाई पूरै बेवास्ता गरिएको थियो। दोस्रो परीक्षणमा लगानीकर्ता B धैर्य गर्छन्। उनी शेयर बलियो सपोर्टमा आएपछि मात्र किन्छन्।

यहाँ "मेजर सपोर्ट" भनेको यस्तो भाउलाई मानिएको छ , जसभन्दा तल शेयर कम्तीमा ६० कारोबार दिन (करिब तीन महिना) सम्म झरेन। लगानीकर्ता B ले पनि प्रत्येक कम्पनीको ६३० कित्ता नै किन्छन्। तर ६३ महिनामा होइन, यस्ता सपोर्टका दिनमा बाँडेर। औसतमा एउटा कम्पनीमा पाँच वर्षमा करिब आठ पटक मात्र किन्ने मौका आयो।

तालिका १: हरेक महिना किन्दा र मेजर सपोर्टमा किन्दाको तुलना (१४५ कम्पनी)


स्रोत: लेखकको गणना। प्रतिफलमा नगद लाभांश, बोनस र हकप्रद शेयर समावेश छन्। कर र कारोबार शुल्क समावेश छैनन्।

दुई तरिकाबीचको फरक निकै ठूलो छ:

  • नाफामा रहेका कम्पनी ९० बाट बढेर १२९ (८९%) पुगे।
  • घाटामा रहेका कम्पनी ५५ बाट घटेर १६ (११%) मा झरे।
  • लगानी कम (रु. ९.६० करोड) लाग्यो, तर अन्तिम मूल्य झन्डै उत्तिकै (रु. १२.१७ करोड) आयो।
  • पोर्टफोलियोको वार्षिक प्रतिफल ५.४१% बाट १०.५८% पुग्यो, अर्थात् लगभग दोब्बर भयो।
  • NRN को वार्षिक प्रतिफल ३४.९३% बाट ४८.७३% पुग्यो।

सबै १४५ कम्पनीमा सपोर्टमा किन्दा हरेक महिना किन्दाभन्दा बढी प्रतिफल आयो।

एउटा कुरा ध्यान दिनुपर्छ। कुनै भाउ ६० दिनको सपोर्ट हो भन्ने कुरा ती ६० दिन बितेपछि मात्र थाहा हुन्छ। त्यसैले यो परीक्षणले पछाडि फर्केर सपोर्ट पहिचान गरेको हो। यसले सपोर्टमा अनुशासित भएर किन्दा पाउन सकिने सबैभन्दा राम्रो नतिजा देखाउँछ। यो ठ्याक्कै त्यही दिन किन्न सकिने नियम होइन।

तर दिशा भने स्पष्ट छ: राम्रा कम्पनी जुनसुकै भाउमा किन्नुभन्दा ठूलो गिरावट र बलियो सपोर्टमा थप्दै जानु धेरै राम्रो हुन्छ।

यहाँ सबै कम्पनीमा एउटै ६० दिनको नियम लगाइएको छ। प्रत्येक कम्पनीको आफ्नै चार्ट हेरेर मेजर सपोर्ट र रेजिस्टेन्स पहिचान गरी किन्ने हो भने घाटामा रहने कम्पनी अझै घट्न सक्छन् र प्रतिफल अझै बढ्न सक्छ।

१००, १८० र २०० दिन जस्ता मुभिङ एभरेजलाई सपोर्ट मानेर नियमित लगानी गर्दा प्रतिफल अझै धेरै बढ्ने सम्भावना छ। तर १४५ वटै कम्पनीको समायोजित मूल्यको तथ्याङ्क नभएकाले यो हिसाब यस अध्ययनमा राख्न सकिएन।

नियमित लगानीले कसरी मद्दत गर्छ?

धेरै लगानीकर्ता आफ्नो बचत एकैपटक बजारमा हाल्छन्। त्यसको लगत्तै बजार घट्यो भने ठूलो रकम गुम्ने डर हुन्छ, र उनीहरू आत्तिएर बेच्छन्। हरेक महिना निश्चित कित्ता किन्दा भने खरिद मूल्य राम्रो र नराम्रो दुवै समयमा बाँडिन्छ। भाउ घट्दा सोही मासिक खरिदले औसत लागत घटाउँछ। बजार फेरि बढ्दा त्यही कम लागत नाफामा बदलिन्छ। पाँच वर्ष "लामो अवधि" को सुरुवात मात्र हो। बजारलाई तेजी र मन्दीको एउटा पूरा चक्र पार गर्न लगभग १० वर्ष लाग्छ। त्यसैले ५ देखि १० वर्षको लगानीलाई दीर्घकालीन मानिन्छ।

चार्ट: १४५ कम्पनीको वार्षिक प्रतिफल (XIRR) – हरेक महिना किन्दा (A) र मेजर सपोर्टमा किन्दा (B), १९ अगस्ट २०२१ – १६ अक्टोबर २०२६

A = हरेक नेपाली महिनाको अन्तिम कारोबार दिनमा १० कित्ता किन्दा। B = उही ६३० कित्ता सपोर्टका दिनमा मात्र किन्दा।

चार्ट १(क): सबैभन्दा धेरै प्रतिफल दिने ३४ कम्पनी (क्र.सं. १–३४)

चार्ट १(ख): मध्यम प्रतिफल दिने ५६ कम्पनी (क्र.सं. ३५–९०)

चार्ट १(ग): कम प्रतिफल र घाटामा रहेका ५५ कम्पनी (क्र.सं. ९१–१४५)

सपोर्टमा किन्दा पनि घाटामा रहेका १६ कम्पनी यी हुन्:

PFL (-०.६८%), NUBL (-२.०९%), SJCL (-२.२२%), NMBMF (-२.३२%), LLBS (-३.३०%), SICL (-३.९५%), UPPER (-५.१३%), CGH (-५.६३%), JSLBB (-६.२२%), VLBS (-६.२६%), FOWAD (-६.३९%), NICLBSL (-६.५८%), NICA (-७.५९%), MLBSL (-१२.२१%), RHPL (-१२.३६%), JFL (-१२.८५%)। यी कम्पनीको घाटा वार्षिक ०.६८% देखि १२.८५% सम्म छ। सपोर्टमा किन्ने क्रम जारी राखे नेप्सेमा सामान्य सुधार आउँदा पनि यीमध्ये धेरै नाफामा पुग्न सक्छन्। तर मर्जरमा जान लागेका सिन्धु विकास बैंक र जानकी फाइनान्स जस्ता केही कम्पनी अपवाद हुन सक्छन्।

केही कम्पनी किन घाटामा रहे?

धेरैजसो घाटा किन्ने तरिकाका कारण होइन, ती कम्पनीमा भएका विशेष घटनाका कारण भएको हो। यस्ता घटना मुख्य रूपमा चार किसिमका छन्।

१. आफूभन्दा ठूलो कम्पनीसँग मर्जर

केही कम्पनीको पुँजी र सार्वजनिक शेयर कम थियो, र तिनको भाउ धेरै माथि थियो। तर आफूभन्दा धेरै ठूलो कम्पनीसँग गाभिने सहमति भएपछि शेयर साटासाटको अनुपात ठूलो कम्पनीको भाउसँग जोडियो। त्यसपछि तिनको भाउ एक्कासि घट्यो। उदाहरण:

  • MLBSL – FMDBL सँग मर्जर सम्झौता (१० अगस्ट २०२६)
  • JFL र SINDU – MNBBL सँग सम्झौता (४ सेप्टेम्बर २०२६)
  • PFL – SFCL सँग प्रारम्भिक सम्झौता (२० जुलाई २०२५)
  • SLBSL – सञ्जीवनी लघुवित्तसँग सम्झौता (३ अगस्ट २०२६)
  • SMATA – मनकामना स्मार्ट लघुवित्तसँग मर्जर सम्झौता (२४ अगस्ट २०२३)
  • JBLB – युनिक नेपाल र मानुषी लघुवित्तबीच प्रारम्भिक सम्झौता (मार्च–अप्रिल २०२६)

यी मर्जर नभएका भए यीमध्ये धेरैजसो कम्पनी नाफामा हुन सक्थे।

२. संस्थापक शेयर साधारण शेयरमा परिणत

धेरै लघुवित्त संस्थाले संस्थापकको शेयरलाई बजारमा किनबेच हुने साधारण शेयरमा बदले। यसले बजारमा बेच्न मिल्ने शेयर एक्कासि धेरै भयो र भाउ घट्यो। उदाहरण: MERO (स्वीकृति ९ मार्च २०२५), BFC (२७ मार्च २०२५), SWBBL (३० मार्च २०२६), SLBSL (घोषणा २४ जुन २०२६) र FOWAD (संस्थापक र सर्वसाधारणको अनुपात ७०:३० बाट ६०:४० बनाउने सूचना, २६ जुन २०२६)।

३. जेनजी आन्दोलन र भोटेकोशी बाढी

निर्जीवन बीमा कम्पनी SICL, IGI, NIL र NICL तथा पुनर्बीमा कम्पनी NRIC ले जेनजी आन्दोलन र भोटेकोशी बाढीले गरेको क्षतिको ठूलो दाबी तिर्नुपर्‍यो। यसले तिनको आगामी नाफा घटाउनेछ।

CGH को सम्पत्ति ९ सेप्टेम्बर २०२५ मा आन्दोलनकारीले नष्ट गरे। OHL को व्यवसाय पनि प्रभावित भयो। जलविद्युततर्फ RHPL र CHCL भोटेकोशी बाढीमा क्षतिग्रस्त भए। UPPER को आयोजना २८ सेप्टेम्बर २०२४ को बाढीबाट प्रभावित भयो। यी दुई घटना नभएका भए विशेष गरी निर्जीवन बीमा कम्पनी राम्रो नाफामा हुने थिए।

४. कमजोर वित्तीय अवस्था

केही कम्पनीको भाउ व्यवसाय नै कमजोर भएकाले घट्यो। NICA का वित्तीय सूचक कमजोर रहे। UPPER मा तीनवटै समस्या थिए: कमजोर आधार, ठूलो पूँजी र बाढीको क्षति।

सपोर्टमा किन्दा पनि घाटामा रहेका १६ मध्ये ९ कम्पनी माथिका कुनै न कुनै घटनाबाट प्रभावित छन्। बाँकी ७ (NMBMF, NUBL, LLBS, SJCL, VLBS, NICLBSL र JSLBB) मध्ये धेरैजसो लघुवित्त हुन्। यो पूरै अवधिभर लघुवित्त क्षेत्र दबाबमा रह्यो। यी सात कम्पनीहरूमा पनि निरन्तर अर्को ५ वर्षको लागि सपोर्ट जोन लगानी जारी राख्ने हो भने, समग्र बजार बढ्दा नाफामा आउनेछन्। दीर्घकालीन लगानी वास्तविक १० वर्षलाई नै मानिन्छ।

यसले विविधीकरण, अर्थात् धेरै कम्पनीमा लगानी बाँड्नुको महत्त्व पनि देखाउँछ। केही कम्पनी नराम्ररी प्रभावित हुँदा पनि १४५ कम्पनीको पूरै पोर्टफोलियो दुवै तरिकामा स्पष्ट रूपमा नाफामा छ।

लगानीकर्ताका लागि सन्देश

नेप्सेले सामान्यतया दस वर्षभित्र तेजी (बुल) र मन्दी (बियर) को एउटा पूरा चक्र पार गर्छ। त्यसैले लगानीकर्ताले यी कुरा ध्यानमा राख्न सक्छन्:

  • बलियो कम्पनी छान्नुहोस्: राम्रो आम्दानी, नियमित लाभांश दिने क्षमता र उचित P/E अनुपात भएका कम्पनी।
  • नियमित रूपमा किन्नुहोस्: सबै पैसा एकैपटक नहाली थोरै-थोरै गरेर किन्दा जोखिम घट्छ।
  • गिरावटलाई मौका ठान्नुहोस्: ठूलो गिरावट र बलियो सपोर्टमा थप किन्दा औसत लागत घट्छ। बजार फेरि उक्लँदा त्यही कम लागत राम्रो नाफामा बदलिन्छ।
  • धैर्य राख्नुहोस्: कम्तीमा ५ देखि १० वर्षको सोच राख्नुहोस्।
  • लगानी बाँड्नुहोस्: एक-दुई कम्पनीमा मात्र होइन, धेरै कम्पनी र क्षेत्रमा लगानी गर्नुहोस्।

"नेपालमा लामो समय शेयर राख्नेले कमाउँदैनन्" भन्ने आम धारणा यो परीक्षणमा सही देखिएन। नेप्सेको ३,१८०.६६ को शिखरबाट सुरु गरेर कुनै विशेष विश्लेषण नगरी किन्नेहरू पनि आज झन्डै दुई-तिहाइ (६२%) कम्पनीमा नाफामा छन्। धैर्य गरेर सपोर्टमा किन्नेहरू त झन्डै ९०% कम्पनीमा नाफामा छन्।

त्यसैले, गुणस्तरीय कम्पनी छान्नुहोस्। भाउ सस्तो भएको वा सपोर्टमा आएको बेला नियमित किन्दै कित्ता बढाउँदै जानुहोस्, र कम्तीमा ५ देखि १० वर्षको सोच राख्नुहोस्। यसो गर्ने लगानीकर्ताले घाटा बेहोर्नु पर्दैन। यो रणनीतिमा 'ब्लु चिप' मात्र होइन, तुलनात्मक रूपमा ‘आलु चिप’ कम्पनीले पनि राम्रो प्रतिफल दिएका छन्।

अध्ययन विधि

कम्पनी छनोट: १९ अगस्ट २०२१ मा सूचीकृत करिब २२० कम्पनीमध्ये पछि मर्जर भएका वा सूचीबाट हटेका कम्पनी हटाइयो। धेरै कम कारोबार हुने NLO र BNL पनि हटाइयो। बाँकी १४५ कम्पनी अध्ययनमा परे।

हरेक महिना किन्दा (A): हरेक नेपाली महिनाको अन्तिम कारोबार दिनमा प्रत्येक कम्पनीको १० कित्ता बन्द भाउमा किनियो (कुल ६३ पटक, ६३० कित्ता)। त्यो दिन कारोबार नभए अर्को कारोबार दिनको भाउ लिइयो। कारोबार रोकिएको बेला किन्न नपाएको कित्ता कारोबार खुलेपछि एकैपटक किनियो।

सपोर्टमा किन्दा (B): उही ६३० कित्ता यस्ता दिनमा मात्र बराबर बाँडेर किनियो, जुन दिनको भाउभन्दा तल शेयर अघि र पछि कम्तीमा ६० कारोबार दिनसम्म झरेन। बोनस र हकप्रदका कारण घटेको भाउलाई नयाँ तल्लो भाउ मानिएन। यो सपोर्ट पछि फर्केर हेर्दा मात्र थाहा हुन्छ, त्यसैले यसले सम्भावित सबैभन्दा राम्रो नतिजा देखाउँछ।

प्रतिफलको हिसाब: नगद लाभांश, बोनस शेयर र रु. १०० मा किनिएको हकप्रद शेयर सबै हिसाबमा राखियो। सबै शेयरको मूल्य १६ अक्टोबर २०२६ को बन्द भाउमा निकालियो। वार्षिक प्रतिफल XIRR विधिबाट निकालियो।

हिसाबमा नराखिएका खर्च: ब्रोकर कमिसन, सेबोन शुल्क, डीपी शुल्क र नगद लाभांशको कर हिसाबमा राखिएका छैनन्। यी खर्च जोड्दा वास्तविक प्रतिफल यहाँ देखाइएकोभन्दा केही कम हुन्छ।

विशेष अवस्था: कम कारोबार हुने UNL मा नजिकको कारोबार दिनको भाउ लिइयो। NMBMF को अन्तिम मूल्य १५ अक्टोबर २०२६ को भाउमा निकालियो।

तथ्याङ्कको स्रोत: वित्तीय पोर्टलहरू (मेरो लगानी, सेयर संसार र नेप्से अल्फा)

 




६२ कम्पनीले गरे लाभांश घोषणा, कसले कति दिए धेरै, कुन क्षेत्र अगाडि?

Oct 25, 2026 09:53 AM

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरूले चालु आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरूलाई लाभांश घोषणा गर्ने क्रम तीव्र बनाएका छन्। सूचीकृत कम्पनीहरूमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था, जलविद्युत्, उत्पादनमूलक तथा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरूले प्रतिफल घोषणा गरिसकेका छन्।