विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १ करोड ६ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ९२ लाख ७४ हजार रुपैयाँ थियो। यस तुलनामा यस वर्ष कम्पनीको खुद नाफामा १४.९२ प्रतिशतको सकारात्मक वृद्धि देखिएको छ।
आन्तरिक कार्यकुशलतामा सुधार र उत्पादन वृद्धिले नाफालाई उकास्न ठुलो सहयोग पुर्याएको छ।
समीक्षा अवधिमा कम्पनीको कुल राजस्व बढेर ५४ करोड १९ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ४२ करोड ४९ लाख रुपैयाँ रहेको थियो। बिक्री लागत ४७ करोड ७८ लाख रुपैयाँ कटाएपछि कम्पनीको कुल मुनाफा ६ करोड ४० लाख रुपैयाँ कायम भएको छ। प्रशासनिक तथा बिक्री वितरण खर्चहरू नियन्त्रण गर्दै कम्पनीले सञ्चालन मुनाफा २ करोड ४६ लाख रुपैयाँ कायम भएकाे छ। साे अवधिसम्ममा कम्पनीकाे वित्तीय खर्च १ करोड ४० लाख रुपैयाँ रहेको छ भने कम्पनीको करपूर्वको मुनाफा १ करोड ६ लाख ५८ हजार रुपैयाँ रहेको छ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ६३ करोड १२ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा १४ करोड ४२ लाख रुपैयाँ सञ्चित रहेको छ, जसले कुल इक्विटीलाई १ अर्ब ७७ करोड ५५ लाख रुपैयाँ पुर्याएको छ।
वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६१ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ५ पैसा र तरलता अनुपात २.५४ को मजबुत विन्दुमा रहेको छ।
कम्पनीले आफ्ना उत्पादन प्रक्रियालाई अनुकूलित गर्ने, बजार पहुँच पुर्याउने, लागत कटौतीका उपायहरू अपनाउने र नयाँ उत्पादनहरू बजारमा ल्याउने रणनीतिक कदमलाई तीब्रता दिएको छ। मूल्यवृद्धिका चुनौतीहरू र वाह्य आर्थिक दबाबका बाबजुद कम्पनीले आफ्ना वितरण च्यानलहरूलाई थप सुदृढ गर्दै सञ्चालन दक्षता र बजार हिस्सा बढाउने दिशामा प्रभावकारी काम गरिरहेको व्यवस्थापनले जनाएको छ।
