पेट्रोलियम पाइपलाइन ओछ्याउने काम प्रभावित

Aug 01, 2018 RSS



बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउने काम वर्षाका कारण प्रभावित भएको छ ।

नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्मको ७० किलोमिटर लम्बाइ पाइपलाइन ओछ्याउने काम अत्यधिक वर्षापछि हालसम्म १५ किलोमिटर क्षेत्रमा मात्र सम्पन्न भएको छ ।

गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतिहारी– अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्नुभएको थियो । त्यसपछि जमिनमुनि पाइप बिछ्याउने काम शुरु भएको हो ।

सत्तरी किलोमिटर लम्बाइ भएको सो पाइपलाइन रु दुई अर्ब ७५ करोडको लागतमा निर्माण भइरहेको छ । भारतको रु दुई अर्ब तथा तथा संघीय सरकारको रु ७५ करोड लगानी रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन कार्यालय सिमराले जनाएको छ ।

नेपालतर्फ भारतीय सीमा रक्सौलदेखि अमलेखगञ्जसम्म ३६ दशमलव २ किलोमिटर भूभागमध्ये हालसम्म १५ किलोमिटर क्षेत्रमा पाइप जमिन मुनि राख्ने काम सम्पन्न भएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन कार्यालय सिमराका इन्जिनियर शरदप्रसाद पौडेलले जानकारी दिए ।

वर्षाका कारण खनिएको खाल्डोमा पानि भरिनुका साथै सडक विभागले सडक निर्माण गरिहरेका कारण हाललाई सो काम अगाडि बढ्न नसकेको उनको भनाइ छ । जितपुर बजार र परवानीपुर बजारमा तथा रजतजयन्ती चोकदेखि गण्डकसम्म एक किलोमिटर क्षेत्रमा उक्त काम बाँकी रहेको छ ।

पथलैयादेखि अमलेखगञ्जसम्मको आठ किलोमिटर क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज भएर पाइपलाइन ओछ्याउनु पर्ने भएकाले निकुञ्जभित्रका पाँच हजार रुख काट्नुपर्ने अवस्था छ । रुख काट्न संघीय सरकारले स्वीकृति दिइसकेकाले वातावरणीय मूल्यांकन प्रभावबारे सूचनासमेत प्रकाशित गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयले वातावरणी प्रभाव मूल्यांकन प्रतिवेदनलाई स्वीकृति दिएपछि रुख काट्ने अनुमति मन्त्रिपरिषद्ले पारित गरेपछि मात्र रुख काट्ने काम अघि बढ्ने पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताए । पाइपलाइन बिछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्न अमलेखगञ्ज आयल निगमको डिपोमा तीन हजार नौ सय किलोलिटर क्षमताका दुई तथा चार हजार एक सय किलोलिटर क्षमताका दुईवटा टयांकरको मर्मत भइरहेको छ ।

एक वर्षभित्र निर्माण गर्ने लक्ष्य लिएको सो पाइपलाइन निर्माण सम्पन्न भएपछि प्रतिघन्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट भित्रिने छ । पाइपलाइन सञ्चालनमा आएपछि नेपाल–भारतको रक्सौल नाकामा रहँदैआएको जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता समेत हट्ने विश्वास लिइएको छ ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।