अनलाइन कारोबार गर्न लगानीकर्ताले अपनाउनुपर्ने शर्तहरु यस्ता छन्

Nov 19, 2018 Merolagani



अनलाइन शेयर खरिद बिक्री गर्न लगानीकर्ताले बिभिन्न शर्तहरु (सम्झौता) पालना गर्नुपर्ने भएको छ । ब्रोकर एसोसिएसनले लगानीकर्ता र ब्रोकर बीचको ३० बुँदे सम्झौता तयार गरेको छ ।

एसोसिएसनले तयार पारेको उक्त सम्झौताको नमुना धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को उपनियम १० सँग सम्वन्धित छ ।

अनलाइन शेयर खरिद बिक्री गर्दा हुन सक्ने जोखिम व्यवस्थापन र शेयर खरिद बिक्रीको प्रक्रियालाई अझ व्यवस्थित बनाउन विनियमावलीको आधारमा सम्झौताको नमुना तयार गरिएको एसोसिएसनको दाबी छ ।

लगानीकर्ताले अनलाइन कारोबार गर्न अपनाउनु पर्ने शर्तहरुः– 

सम्झौता पत्रमा शेयर खरिदकर्ताले शेयर कारोबार गर्ने ब्रोकरमा भरिएको ग्राहक परिचय विवरण (केवाईसी) मा कुनै फेरबदल भएको खण्डमा छिट्टै विवरणहरु अध्यावधिक पर्ने उल्लेख छ ।

लगानीकर्ताले कर्जा सूचना केन्द्रको कालो सूचिमा रहे नरहेको प्रमाणित निस्सा ब्रोकरलाई सुचित गर्नुपर्ने शर्त रहेको छ ।

सम्झौतामा लगानीकर्ता कुनै न्यायीक निकायको कारवाहिमा परेमा, आर्थिक रुपमा टाट पल्टिएमा, विघटनमा गएमा, दामासाहीमा परेर आर्थिक अवस्थामा नकारात्मक परिवर्तन भएको खण्डमा ब्रोकरलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ ।

ब्रोकरले अनलाइन कारोबार गर्न दिएको यूजर नेमर पासवर्ड परिवर्तन गरे पछि त्यसको गोपनियता स्वयं लगानीकर्ताको नियन्त्रणमा हुनेछ ।

अनलाइनबाट कारोवार गर्दा सिस्टममा (प्रणाली)मा आएको समस्याको कारण लगानीकर्ताको सम्पत्तिमा कुनै हानी नोक्सानी भएमा त्यसको जिम्मेवारी लगानीकर्ता आफैले लिनु पर्ने व्यवस्था छ ।

यदि बिक्री भएको धितोपत्रको राफसाफमा कुनै समस्या भएमा त्यसको सम्पूर्ण जिम्मेवारी लगानीकर्ता आफैले लिनु पर्नेछ ।

लगानीकर्ताले शेयर बिक्री गरेपछि शेयरको आधार मूल्य ब्रोकरलाई राफसाफ हुनु भन्दा १ दिन पहिले नै दिनु पर्नेछ । यदि आधार मूल्य फर्जि तथा गलत आधार मूल्यका कारण उत्पन्न हुने कानूनी तथा आर्थिक दायित्व लगानीकर्ता स्वयंले व्यहोर्नु पर्ने उल्लेख छ ।

ब्रोकरले बिक्री भएको शेयरमा लाग्ने कर, शूल्क, दस्तुर तथा अन्य प्रणालीगत शूल्कहरु कट्टा गरेर मात्र बाँकी रकम शेयर लगानीकर्तालाई दिने सम्झौतामा व्यवस्था गर्ने छ ।

खरिद भएको शेयर कारोबार सम्पन्न भएको दोस्रो दिन (टि प्लस २) सम्ममा ब्रोकरले खरिदकर्ताको निक्षेप खातामा पठाई सक्नुपर्ने हुन्छ ।

कारोबार भएपछि लगानीकर्ताको मृत्यु भएमा दामासाहीमा परेमा, मगज बिग्रीएमा वा अन्य कारणले कारोबार राफसाफ हुन नसकेमा उक्त कारोबारको जिम्मेवारी निजको कानूनी उत्तराधिकारीले लिनुपर्नेछ ।

नेपाल स्टक एक्सचेन्जमा आदेश भई सकेको कारोबार रद्ध गरेमा सो कारणबाट उत्पन्न परिणाम लगानीकर्ता स्वयंले बहन गर्नुपर्ने हुन्छ ।

सम्झौतामा ब्रोकरको काबु बाहिरको समस्याका कारण उत्पन्न हुने कुनै पनि परिस्थति उत्पन्न भएमा त्यसको कुनै जिम्मेवारी ब्रोकरले नलिने बताइएको छ ।

लगानीकर्ताले कारोबारको आदेश दिन लिखित मञ्जुरीमा दिई प्रतिनिधि राख्न सक्ने छ । तर यदि उक्त प्रतिनिधिबाट भएको सम्पूर्ण कारोबार लगानीकर्ता आफैले गरे सरह हुनेछ र हानी नोक्सानी पनि लगानीकर्ता स्वयले ब्यहोर्नुपर्नेछ ।

अनलाइन कारोबार गर्न कस्तो आदेश हुन्छ वैधानिक ?

अनलाइन कारोबार सुरु भए पछि शेयर खरिद बिक्रीको आदेश लगानीकर्ता स्वयंले गर्न सक्ने छन् । लगानीकर्ताले शेयर खरिद बिक्रीको आदेश दिन पूर्व लगानीकर्ता र ब्रोकर बीचमा सम्झौता भए पछि मात्र अनलाइन शेयर कारोबार गर्न सक्नेछन् ।

अनलाइन शेयर खरिद बिक्री गर्न विनियमावलीले उल्लेख गरे बमोजिम आएको आदेशलाई मात्र मान्यता दिने भएको हो । जसमा लगानीकर्ताले फोन नम्बर, मोवाइल नम्बर, इमेल, लगानीकर्ताको यूजर नेम, ब्रोकरको वेवसाइट र अन्य विद्युतीय माध्यमबाट दिएको आदेशलाई मात्र मान्यता दिने सम्झौतामा उल्लेख छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।