म्युचुअल फण्डहरुकाे कमजाेर व्यवस्थापनले देखिएन सन्तोषजनक प्रगति,थामिएन एनएभि गिरावट

Jan 13, 2019 Merolagani

शेयर बजारको विश्लेषणात्मक अध्ययन गरी लगानी गर्ने म्युचुअल फण्डहरुको कमजोर व्यवस्थापनले फण्डको इकाईमा लगानी गर्ने इकाईधनीको सम्पत्ति (NAV) हरेक महिना घट्दै जान थालेको छ। हरेक महिना फण्डहरुको घाटा बढ्दा खुद सम्पत्तिमा गिरावट आउँदा प्रतिइकाई खुद सम्पत्तिमूल्य निरन्तर ओरालो लागेकाे छ। जसले फण्डहरुमा गरिएको लगानी जोखिममा पर्ने संकेत देखाएकाे छ।

शेयर बजारको दोस्रो बजारमा गरिने लगानीभन्दा सुरक्षित लगानीको विकल्पका रुपमा हेरिएका यस्ता फण्डहरुमा दक्ष जनशक्ति उपलब्ध नहुँदा यसमा गरिएको लगानीबाट लगानीकर्ताले उचित प्रतिफल पाउन सकेका छैनन्। बरु फण्डले हरेक महिना घाटा व्यहोर्दा प्रतिइकाई ३० प्रतिशतसम्म सम्पत्ति घटिसकेको अवस्था रहेको फण्डहरुले नै प्रकाशित गरेको तथ्याङ्कले देखाएको छ ।

शेयर बजारमा निरन्तर चलिरहने उतारचढाबका बेला योजना व्यवस्थापकले उपयुक्त निर्णय लिन नसक्दा फण्डहरुलाई बजारको लगानी जोखाउनै मुस्किल देखिन्छ ।

म्युचुअल फण्डहरुले आफ्नो लगानी व्यवस्थापन गर्न शेयरबजार सम्बन्धी विश्लेषकहरुलाई नियुक्त गरेको हुन्छ ।

यस्ता फण्डहरुले बजारको आधारभूत तथा प्राविधिक अध्ययन गर्नको लागि ठूलै रकम समेत खर्चने गरेका छन्। तिनै शेयर जानकारहरुको सुक्ष्म विश्लेषण पश्चात लगानी गर्ने फण्डहरुको अवस्था सन्तोषजनक नरहेको पछिलो दुई तीन महिना यता फण्डहरुले प्रकाशित गरेको वित्तीय विबरण हेर्दा प्रष्ट हुन्छ ।

यस्ता फण्डहरुको लगानीको क्षेत्र संकुचित रहेकाले शेयरबजारबाट मात्रै राम्रो प्रतिफल आउन नसकेको फण्ड सञ्चालकहरुको बुझाई छ । एनआइबिएल एस क्यापिटलका महाप्रबन्धक मेख बहादुर थापा समग्र बजार घटेको अवस्थामा फण्डहरुको प्रर्दशन कमजोर देखिएको बताउँछन् । 'समग्र बजार नै घटेको छ, बजारको प्रकृति अनुसार फण्डहरुको एनएभि घटबढ हुने भएकाले कमजोर देखिएको हो । बजार घट्यो भनेर सबै शेयर बेचेर पैसा राख्न पनि कानूनले दिँदैन। त्यसैले आधारभूत रुपमा राम्रा कम्पनीमा लगानी गरी हाल्ड गर्ने मात्र हो ।'  उनले भने ।

सामूहिक लगानी कोषहरुमा लगानी गर्नु दोस्रो बजारमा जस्तो जोखिम नहुने र लगानी पनि सुरक्षित हुने जानकारहरुले बताउने गरेका छन् । तर फण्डहरुको मासिक प्रतिवेदन हेर्दा ढुक्क हुने अवस्था नभएको इकाइका लगानीकर्ता नै बताउँछन् ।

हाल सञ्चालनमा रहेका १३ वटै फण्डहरुको प्रतिइकाई खुद सम्पत्ति (एनएभि) दिन प्रति दिन खस्किदै गएको छ । धेरैजसो फण्डहरुले प्रति इकाई खुद स्मपत्तिमूल्य तीन रुपैयाँसम्म गुमाएको अवस्था छ । मासिक आम्दानी नोक्सानीमा छ ।

अहिले दोस्रो बजारको प्रकृति हेर्दा फण्डहरु शेयरमा लगानी बढाउन डराएका छन् ।जसको कारण फण्डहरुले शेयरमा लगानी कम गर्दै मुद्धती निक्षेपमा लगानी बढाउन थालेका छन् । केहि दिन पहिले मात्र धितोपत्र बोर्डले फण्डको आकारको १० प्रतिशत भन्दा धेरै रकम मुद्धती निक्षेप राखेको भन्दै चार वटा फण्डलाई जरिवाना गराएको थियो ।

सामूहिक लगानी कोष नियमावली, २०६७ अनुसार फण्डले आकारको १० प्रतिशतभन्दा धेरै रकम निक्षेपमा लगानी गर्न पाईदैन।

शेयर बजार र कम्पनीको अवस्थाबारेमा गहिरो अध्ययनपछि लगानी गर्ने फण्डहरुले पनि शेयरबाट प्रतिफल लिन नसकेको अवस्थामा लगानीकर्ता फण्डहरुप्रति सकारात्मक बन्न सकेका छैनन् भने फण्ड सञ्चालकरुले समेत नयाँ फण्ड सञ्चालन गर्ने आँट गर्न सकेका छैनन् ।

जसले गर्दा झण्डै डेढ वर्ष देखि धितोपत्र बोर्डको पाइपलाइनमा रहेका ६ वटा म्युचुअल फण्डले सञ्चालन अनुमति लिनका लागि आवश्यक कागजात समेत बुझाएका छैनन्। सम्बन्धित कम्पनीहरुले नै आवश्यक कागजात पेश नगर्दा फण्डहरुले अनुमति नपाएको धितोपत्र बोर्डको भनाई छ । हाल सञ्चालनमा रहेका फण्डबाट राम्रो प्रतिफल आर्जन गर्न नसक्दा नयाँ फण्ड संचालन गर्न मर्चेन्ट बैंकहरुले जाँगर नदेखाएको बुझिन्छ ।

म्युचुअल फण्डहरुको पछिल्लाे वित्तीय अवस्था यस्ताे छ:-

चालू आर्थिक वर्ष यता हरेक मसान्तमा १३ वटै फण्डहरुको प्रति इकाई खुद सम्पत्ति मूल्य(एनएभि) घट्दाे क्रममा रहेकाे छ। तलकाे तालिकामा पछिल्लाे तीन महिनाकाे म्युचुअल फण्डकाे प्रतिइकाइ खुद सम्पत्तिमूल्यमा देखिएकाे गिरावटलाइ देखाइएकाे छ । असाेज मसान्तकाे तुलनामा कार्तिकमा र कार्तिक मसान्तकाे तुलनामा मंसिर महिनामा सबै १३ वटै फण्डहरुको एनएभि ओरालो लागेको हो ।दोस्रो बजारमा भएको गिरावटको प्रत्यक्ष प्रभाव म्युचुअल फण्डकाे एनएभिमा गिरावट आएकाे हाे ।

लगानीकर्ताको आन्दोलन पश्चात पछिल्ला दिनहरुमा सरकार पूँजी बजार सुधार र व्यवस्थापनमा आक्रमक रुपमा प्रस्तुत भएको छ । राष्ट्र बैंक, धितोपत्र बोर्ड तथा नेप्से लगायतले आफ्ना जिम्मेवारीका कामहरु अगाडि बढाएका छन् । यसले आगामी दिनमा समग्र बजारको विस्तार र विकास हुने आशा गर्न सकिन्छ । जसबाट म्युचुअल फण्डहरु र यसका लगानीकर्ताले पनि फाइदा लिन सक्नेछन् ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।