ओमसँगको एक्विजिशन बिथोलिए पनि लाभांश नरोकिने, प्राइमले बोलायो एजिएम

May 15, 2019 Merolagani



प्राईम कमर्सियल बैंक (PCBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको छ । बैंकले आगामी जेठ २६ गते आइतबार एघारौं बार्षिक साधारण सभा डाकेको छ ।

साधारण सभा प्रयोजनका लागि जेठ ९ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने बैंकले जनाएको छ । बैंकले नेप्से मार्फत सार्वजनिक गरेको सूचनामा लाभांशको बिषयमा उल्लेख नहुँदा लगानीकर्तामा केहि दुविधा भने उत्पन्न भएको छ ।

ओम डेभलपमेन्ट बैंकलाई एक्विजिशन गर्ने बैंकको सम्झौता कार्यन्वयन नहुने पक्का भएपछि बैंकलाई लाभांश वितरण गर्न राष्ट्र बैंकले रोकेको हो कि भन्ने दुविधा लगानीकर्तामा पाइएको छ ।

यता बैंकले प्रस्तावित लाभांश सहित साधारण सभा आह्वान गरिएको र साधारण सभा सम्बन्धी विस्तृत सूचना विहिबारका दैनिक पत्रिकामा प्रकाशित हुने बैंकले प्रष्ट पारेको छ ।

बैंकका कम्पनी सचिव सन्तोष बरालले मेरो लगानीसँग कुरा गर्दे प्राइमको प्रस्तावित लाभांश यथावत रहेको जानकारी दिए । साथै उनले राष्ट्र बैंकले तीन महिना भित्र अन्य कुनै उपयुक्त बैंकसँग मर्जर तथा एक्विजिशनमा जान निर्देशन दिएको समेत बताए । त्यसका लागि आवश्यक गृहकार्य भईरहेको बरालको भनाई छ । ओमसँगको एक्विजिशनको सम्भावना भने अन्त्य भएको बैंकले प्रष्ट पारेको छ ।

बैंकले गत आवको वितरणयोग्य मुनाफाबाट १६ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । अघिल्लो वर्ष बैंकले २७ प्रतिशत बोनस बाँडेको थियो ।

प्राइमको हाल चुक्ता पूँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ। १६ प्रतिशत बराबरको एक अर्ब २८ करोड ५३ लाख २७ हजार ८४० रुपैयाँ बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार ८४० रुपैयाँ पुग्नेछ ।

विलय सम्झौताको बुँदा नम्बर १९ मा उल्लेख भए विपरित १६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेपछि प्राइम कमर्सियल बैंक र ओम डेभलपमेण्ट बैंक बिचको एक्विजिशन प्रकृया टुट्न पुगेको थियो ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले एक अर्ब ५४ करोड ७९ लाख ०५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिको तुलनामा बैंकले ३१.३६ प्रतिशतले नाफा बढाएको हो। बैंकले यस अवधिमा एक अर्ब ७९ लाख ८८ हजार रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको छ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।