कम्पनीले एक सय रूपैयाँ अंकित दरमा १० बराबर २४ कित्ताको अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयरको बिक्री खुला गरेको हो। एनएमबि क्यापिटलको बिक्री प्रबन्धकत्वमा जारी गरिएको यस हकप्रदमा बुकक्लोजको अघिल्लो दिन अर्थात साउन १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र आवेदन गर्न पाउनेछन्।
धितोपत्र बोर्डबाट आस्वा सेवा संचालनको अनुमति पाएका सबै बैंक तथा बित्तीय संस्था र तिनका शाखाबाट हकप्रद खरीदका लागि असोज ६ गतेसम्म आवेदन दिनसक्नेछन् ।
यस्तै मेरो शेयरबाट समेत हकप्रद भर्न पाइनेछ । हकप्रदमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल, एनएमबि बैंकको तोकिएका शाखा कार्यालयहरु, गुडविल फाइनान्स र सेन्ट्रल फाइनान्सका शाखा कार्यालयहरु मार्फत पनि आवेदन गर्न सकिने उल्लेख छ।
कम्पनीले जारी गर्ने हकप्रदलाई केयर रेटिङ्गस् नेपालले ‘केयर एनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ४ रेटिङ्गले कम्पनीको आधारभुत पक्ष औसत भन्दा तल आधार रहेको जनाउँछ।
केयर रेटिङ्गसको विश्लेषण अनुसार डिसेम्बर १९९३ मा स्थापना भएको यस निर्जीवन बीमा कम्पनीको ३० वटा शाखा कार्यालय र १३७ इन्स्योरेन्स एजेण्ट,र २०१६ जुलाईसम्म एक अर्ब २७ करोड बराबरको सम्पत्ति रहेको छ। कम्पनीको सल्भेन्सी रेसियो ३.१२ रहेको छ। कम्पनीको कुशल बोर्ड र व्यवस्थापन समूहका कारण ऋणात्मक जगेडा रहेको जगेडा कोष हाल धनात्मक बनाउनु तथा लगानीबाट प्राप्त हुने आम्दानीमा वृद्धि हुँदै जानु सकारात्मक रहेको छ ।
उता कम्पनीको कुल र खुद बीमाशुल्क आर्जन घट्नु तथा करिब ८० प्रतिशत बीमालेखहरु गाडीमा मात्र केन्द्रीत रहनु कम्पनीको दुर्बल पक्ष रहेको बताइएको छ। नयाँ कम्पनी थपिएसँगै बढेको प्रतिस्पर्धा, र व्यवस्थापनमा छिटो छिटो भइरहने परिवर्तनले कम्पनीको समग्र वित्तीय प्रगतिमा असर गरेको र हाल रहेका २० निजीबन बीमा कम्पनीमध्ये १७ औं स्थानमा रहनुले पनि कम्पनीमा चुनौति पनि देखिने रेटिङ्ग विवरणमा उल्लेख छ।
अर्बपति विनोद चौधरीको लगानी रहेको युनाइटेडको हाल ३० करोड २४ लाख चुक्ता पूँजी रहेको छ भने हकप्रद पश्चात १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद धितोपत्र बोर्डबाट गत असार ८ गते स्वीकृती भएको थियो।
युनाइटेड इन्स्योरेन्सको शेयर भदौ २ गते सोमबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता शेयरमूल्य ३०४ रुपैयाँमा कारोबार भएको छ ।