सांग्रिला बैंकका शेयरधनीले पनि नगद लाभांशमा नै चित्त बुझाउनुपर्ने

Dec 20, 2019 12:44 PM Merolagani



सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले  गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट बोनस वितरण नगर्ने भएपछि बैंकको शेयरमा लगानी गरेका शेयरधनीले नगद लाभांशमा नै चित्त बुझाउनुपर्ने भएको छ।

बैंक सञ्चालक समितिको पुस ४ गते सम्पन्न २३८ औं बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई कर सहित ८.९५९३ प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार चार सय रुपैयाँ छ। जस अनुसार बैंकले २३ करोड ३५ लाख ३७ हजार २९६ रुपैयाँको नगद लाभांश वितरण गर्नेछ। सञ्चालक समितिको बैठकद्धारा प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

सांग्रिलाले गत आव २०७५/७६ सम्ममा ३५ करोड २६ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो भने बैंकको वितरणयोग्य मुनाफा २८ करोड ३९ लाख ३० हजार सञ्चित थियो।

 

 

 

हालसम्म सांग्रिला डेभलपमेन्ट बैंक बाहेक अन्य ११ विकास बैंकहरुले लाभांश प्रस्ताव गरेकोमा तीन विकास बैंकहरु सहयोगी विकास बैंक, गण्डकी विकास बैंक, र कामना सेवा विकास बैंकले पनि गत आवको मुनाफाबाट नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेका थिए। अन्यले भने बोनस र नगद  दुबै लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्। 

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गरिसकेको सांग्रीला र वाणिज्य बैंकसँग मर्जरमा जाने क्रममा रहेका सहयोगी र गण्डकीले नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको हो। मुक्तिनाथ, गरिमा, ज्योति, र सिन्धु विकास बैंकले बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि मात्र नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् भने कैलाश, लुम्बिनी, महालक्ष्मी र कञ्चनले भने बोनस र नगद दुबै मिलाएर लाभांश वितरण गर्ने घोषणा गरेका छन्। 

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले ४ प्रतिशत बोनस शेयर र ५.४५ प्रतिशत नगद गरि कूल ९.४५ प्रतिशत लाभांश वितरण गरेको थियो।