नेप्सेमा सूचीकृत १५ निर्जीवन बीमा कम्पनीहरुमध्ये कुन अब्बल?

Feb 19, 2020 01:48 PM Merolagani

-अरुण पाख्रेन

हाल नेपालमा २० निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन्। जसमध्ये नेप्सेमा सूचीकृत १५ निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको दाेस्रो त्रैमाससम्ममा ५ अर्ब ६० करोड ४६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी १ अर्ब ५८ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीमध्ये खुद बीमाशुल्क आर्जनको आधारमा शिखर इन्स्योरेन्सले निरन्तर आफुलाई अब्बल साबित गरेकाे छ भने खुद नाफा कमाउनेमा राष्ट्रिय बीमा कम्पनी अघि देखिएकाे छ। युनाईटेड इन्स्योरेन्स तुलनात्मक रुपमा सबैभन्दा कमजोर देखिएको छ।

यस अवधिमा बीमा समितिको निर्देशन अनुसार १३ कम्पनीले न्यूनतम चुक्ता पूँजी कायम गरेको वित्तीय विवरण प्रकाशित गरेका छन्। लुम्बिनी जनरल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी बाहेक सबै निर्जीवन बीमा कम्पनीहरुले समितिको निर्देशन अनुसार न्यूनतम एक अर्ब चुक्ता पूँजी पुर्याएका छन्।

न्युनतम चुक्ता पूँजी पुर्याउने कम्पनीहरुमा नेको, शिखर, प्रिमियर, सगरमाथा, सिद्धार्थ, हिमालयन जनरल, नेपाल इन्स्योरेन्स, आईएमई जनरल, एभरेष्ट, प्रभु, एनएलजी, प्रुडेन्सियल, युनाईटेड इन्स्योरेन्स रहेका छन्।

चुक्ता पूँजी ८८ करोड ३३ लाख रुपैयाँ रहेको लुम्बिनी जनरल इन्स्यारेन्सले निष्काशन गरेको २० प्रतिशत हकप्रदको पूँजीकरण पछि चुक्ता पूँजी एक अर्ब ५ करोड रुपैयाँ पुग्नेछ।

नेको इन्स्योरेन्सको चुक्ता पूँजी सबैभन्दा धेरै १ अर्ब ३१ करोड रुपैयाँ छ भने सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीको २६ करोड ६६ लाख रुपैयाँ मात्रै छ।

खुद बीमाशुल्कमा शिखर र खुद नाफामा राष्ट्रिय बीमा कम्पनी अगाडि

१५ निर्जीवन बीमा कम्पनीहरुमध्ये खुद बीमाशुल्क आर्जनको आधारमा शिखर इन्स्योरेन्स अब्बल देखिएको छ। बीमा कम्पनीहरुको आम्दानीको मुख्य स्रोत बीमाशुल्कमा शिखर इन्स्योरेन्स अघि भएपनि धेरै नाफा कमाउनेमा भने राष्ट्रिय बीमा कम्पनीले बाजी मारेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा शिखरले ९० करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरी २३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यता राष्ट्रिय बीमा कम्पनीले भने १४ करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने सबै भन्दा धेरै ३१ करोड ४४ लाख रुपैयाँ खदु नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ।

नविकरण बीमाशुल्क समयमै संकलन गर्न नसक्दा खुद बीमाशुल्क घटेको देखिएपनि नाफामा सुधार भएको राष्ट्रिय बीमा कम्पनीले जनाएको छ।

सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा राष्ट्रिय बीमा कम्पनी नै रहेको छ भने कम नाफा कमाउनेमा युनाईटेड इन्स्योरेन्स रहेको छ। युनाईटेडले यस अवधिमा २ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

जगेडा र बीमा कोषमा राष्ट्रिय बीमा कम्पनी नै बलियो

सबैभन्दा थोरै चुक्ता पूँजी भएको राष्ट्रिय बीमा कम्पनीको जगेडा र बीमा कोषमा भने ठूलो रकम थुप्रिएको छ। कम्पनीको जगेडा कोषमा २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ९३ करोड रुपैयाँ सञ्चित छ।

शिखर इन्स्योरेन्सको जगेडा कोषमा ५७ करोड ३२ लाख र बीमा कोषमा एक अर्ब १७ करोड रुपैयाँ सञ्चित छ। यस्तै नेको इन्स्योरेन्सको जगेडा कोषमा ३९ करोड ६७ लाख र बीमा कोषमा ६८ करोड ९८ लाख रुपैयाँ रहेको छ।

युनाइटेड इन्स्योरेन्सको जगेडा कोषमा सबैभन्दा कम १० करोड ३२ लाख रुपैयाँ सञ्चित छ भने एभरेष्ट इन्स्योरेन्सको बीमा कोषको आकार सबैभन्दा सानो छ। एभरेष्ट इन्स्योरेन्सको जगेडा कोषमा २५ करोड ५७ लाख रुपैयाँ सञ्चित छ।

प्रतिशेयर आम्दानी र नेटवर्थमा पनि राष्ट्रिय बीमा कम्पनी अघि

राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी थोरै भएका कारण प्रतिशेयर आम्दानी र नेटवर्थ सबैभन्दा धेरै देखिएको छ। कम्पनीको प्रतिशेयर आम्दानी २३५ रुपैयाँ ८६ पैसा र प्रतिशेयर नेटवर्थ एक हजार ९३ रुपैयाँ ५० पैसा कायम छ।

यस्तै शिखर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ९४ पैसा र प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ २२ पैसा रहेको छ।

सबैभन्दा कम प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ भने युनाईटेड इन्स्योरेन्सको रहेको छ। युनाईटेडको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९४ पैसा र प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ०५ पैसा रहेको छ।

युनाईटेड इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात सबैभन्दा धेरै अर्थात ११३.४५ गुणा बढी छ भने नेको इन्स्योरेन्सको सबैभन्दा कम २४.३६ गुणा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।