साहस उर्जाको आईपीओमा आवेदन गर्नु अघि कस्तो छ कम्पनी? हेरौं

Sep 22, 2021 06:09 AM Merolagani

साहस उर्जा लिमिटेडले आज बुधबार (असोज ६ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। स्थानियलाई ३५ करोड रुपैयाँ र सर्वसाधारणलाई ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

आईपीओमा कसरी दिने आवेदन?

कम्पनीले निष्काशन गरेको शेयरमा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे असोज २० गतेसम्म म्याद थप हुनेछ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १० अंकको गुणाङ्कमा अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ।

मध्यम जोखिम जनाउने रेटिङ्ग

कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

इक्रा नेपालले कम्पनीको आईपीओलाई २०७७ असोज २१ गते रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। उक्त ग्रेडिङ्गको अवधि जारी भएको मितिबाट एक वर्षसम्म अर्थात २०७८ असोज २० गतेसम्म रहनेछ।

कस्तो कम्पनी हो?

साहस उर्जा कम्पनी लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०७० माघ १९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई २०७१ भदौ २९ गते पब्लिक लिमिटेडको रुपमा साहस उर्जा लिमिटेड दर्ता भएको हो।

कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर १ मा रहेको छ। कम्पनीको आयोजना स्थल, जलविद्युत उत्पादन केन्द्र तथा अन्य भौतिक पुर्वाधारहरु भने सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका र थुलुङ्ग दुधकोशी गाँउपालिकामा रहेको छ।

कम्पनीले ८६ मेगाबाट क्षमताको सोलुखोला दुधकोशी जलविद्युत आयोजनाको विकास निर्माण गररहेको छ।

विद्युत विकास विभाग मार्फत नेपाल सरकार, उर्जा मन्त्रालयले ओयोजनाबाट विद्युत उत्पादनको लागि २०७१ असोज २ अनुमति दिएको थियो ।

कम्पनीले उक्त आयोजनाबाट २०७९ जेठ २० गतेदेखि व्यवसायिक रुपमा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। आयोजनाको कुल लागत ११ अर्ब ८६ करोड रुपैयाँ लाग्ने कम्पनीको प्रक्षेपण छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीले जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँको ३० प्रतिशत अर्थात १ अर्ब ५ करोड रुपैयाँ बराबरको एक करोड ५ लाख कित्ता (स्थानिय बासिन्दालाई ३५ लाख कित्ता सहित) शेयर निष्काशनमा ल्याएको छ।

आईपीओ निष्काशन गरेर कम्पनीको पूँजी पुर्याउने कम्पनीको मुख्य उद्देश्य रहेको छ।

आईपीओ निष्काशन गरेर संकलन भएको १ अर्ब ५ करोड रुपैयाँ रकममध्ये ६० करोड रुपैयाँ बैंकबाट लिएको अल्पकालिन कर्जा भुक्तानी गर्न, २२ करोड रुपैयाँ परियोजनाको सिभिल ठेक्दारलाई भुक्तानी गर्न, १३ करोड रुपैयाँ परियोजनाको हाइड्रोमेकानिकल ठेकदारलाई भुक्तानी गर्न र १० करोड रुपैयाँ परियोजना प्रसारण लाइनको ठेकदारलाई भुक्तानी गरिने कम्पनीले जनाएको छ।

तीन वर्षमा सञ्चित नाफा दुई अर्ब ६३ करोड पुर्याउने

कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा २ अर्ब ६३ करोड ४४ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्ष २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ सञ्चित नाफा आर्जन गरेको छ।

यस्तै, चालु आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब २५ करोड रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाउने कम्पनीको प्रक्षेपण छ।

आर्थिक वर्ष २०८०/८१ सम्ममा प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ७१ पैसा र प्रतिशेयर आम्दानी २८ रुपैयाँ २८ पैसा पुग्ने कम्पनीले प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४३ पैसा र प्रतिशेयर आम्दानी २२ रुपैयाँ ४२ पैसा रहेको छ।

आयोजनाको कुल लागत ११ अर्ब ८६ करोड रुपैयाँ लाग्ने कम्पनीको अनुमान छ। प्रति मेगावाट लागत १३ करोड ७९ लाख ७ हजार रुपैयाँ लाग्ने कम्पनीको अनुमान छ।

साधारणतर्फ लगानी फिर्ता हुने अवधि ८.०२ वर्ष रहेको छ भने डिष्काउन्टेड लगानी फिर्ता हुने अवधि १०.१३ वर्ष रहेको छ।

पूँजी संरचना
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीको अधिकृत पूँजी र जारी पूँजी दुबै ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ।

आईपीओ निष्काशनपछि कम्पनी शेयर स्वामित्व संस्थापक ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत कायम हुनेछ।

सञ्चालक समितिमा काे काे छन्?

कम्पनीको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ। संस्थापक शेयरधनीको तर्फबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र एक जना स्वतन्त्र गरी ७ को सञ्चालक समिति रहने व्यवस्था छ। सञ्चालकहरुको कार्यकाल ४ वर्षको हुनेछ।

कम्पनी सञ्चालक समितिको अध्यक्ष हिमप्रसाद पाठक रहेका छन्। यस्तै समितिमा सुशिल थापा, मुक्तिराम पाण्डे, भोज बहादुर शाह, मिनराज कंडेल, महेन्द्र कुमार गिरी, परितोष पौड्याल रहेका छन्।

हाल सञ्चालक समितिमा रहेका सबै जना संस्थापक शेयरधनीहरु रहेका छन्। सर्वसाधारणलाई आईपीओ निष्काशन पछि सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक निर्वाचन गर्ने कम्पनीले जनाएको छ। 

भावी योजना तथा रणनीति

कम्पनीले आफ्नो व्यवसाय तथा सेवाको वृद्धिको लागि भावी योजना तथा रणनीति बनाएको छ ।

कम्पनीको मुख्य उद्देश्य नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ।

नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरु समेत निर्माण गर्ने, सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र त्यसलाई नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी सुलभ तरिकाले विद्युत सेवा उपलब्ध गराउने कम्पनीको योजना छ।

यस्तै, कम्पनीले आफ्नो उद्देश्य प्राप्तिका लागि व्यवसायिक रूपमा सम्भाब्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने पनि जनाएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।