एचआईडिसीएलको नाफामा सामान्य सुधार

Feb 11, 2022 06:22 AM Merolagani



हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४५ करोड ३६ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.९१ प्रतिशत मात्र बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४२ करोड ८३ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

ग्राहक सम्झौता आम्दानी र वित्तीय आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको ग्राहक सम्झौताबाट भएको आम्दानी ५७.९१ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी २.१३ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको करअघिको नाफा भने समीक्षा अवधिमा २.१३ प्रतिशत बढेको छ। कम्पनीले सर्वसाधारण शेयर लिलामीबाट शेयर प्रिमियमबापत ५० कराेड ४० लाख रूपैयाँ रकम संकलन गरेकाे छ। त्यसैगरी, कम्पनीले संस्थापक समूहकाे ३ अर्ब ३० कराेड बराबरकाे अवितरित हकप्रद शेयरकाे लिलामी बढाबढ प्रकृया मार्फत बिक्री गर्दैछ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ १९ पैसाबाट ३४ पैसा घटेर ४ रुपैयाँ ८५ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ६९.५८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ३ पैसा रहेको छ।