आईपीओमा कसरी आवेदन दिने?
कम्पनीले निष्काशन गरेको आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे ढिलोमा असार ३२ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम २५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पुर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा प्रभु क्यापिटल र सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
मध्यम जोखिम जनाउने रेटिङ्ग
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्गस् नेपाल लिमिटेडले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्युअर रेटिङ्ग प्रदान गरेको छ ।
केयर रेटिङ्गस् नेपालले प्रदान गरेको उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको भन्ने रहेको जनाउँदछ ।
केयर रेटिङ्गस् नेपालले कम्पनीलाई २०७९ असोज ४ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो । सो रेटिङ्गको अवधि एक वर्ष अर्थात २०८० असोज २९ गतेसम्म कायम हुनेछ ।
कस्तो कम्पनी हो?
अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड, २०७४ कार्तिक १५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई कारोबार संचालन गर्दै आइरहेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानिय तथा सर्वसाधारणको सहभागिता विस्तार गर्न २०७८ असार २३ गते पब्लिक लिमिटेडमा परिणत भई कारोबार गर्दै आइरहेको छ ।
कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ४ गहनापोखरी, नक्सालमा रहेको छ । यस्तै कम्पनीको आयोजना स्थलको कार्यालय भने दैलेखको नौमुले गाँउपालिकामा रहेको छ । कम्पनीले सोहि स्थानबाट ४ मेगावाट क्षमताको माथिल्लो लोहोरे साना जलविद्युत आयोजनाको निर्माण गर्दैछ ।
यस आयोजनाको कुल लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ र प्रतिमेगावाट लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ हुने अनुमान रहेको छ । आयोजनाको साधारण तर्फ लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १७.८४ वर्ष रहेको छ ।
आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीले प्रबन्धपत्रमा भएको व्यवस्था अनुसार जारी पूँजीको ४९ प्रतिशतले हुन आउने २४ करोड ९८ लाख ४ रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानिय र ३९ प्रतिशत सर्वसाधारणको लागि गरी जारी पूँजीको ४९ प्रतिशतका रदले हुने सो बराबरको शेयर निष्काशनमा ल्याएको हो ।
हाल कम्पनीको अधिकृत पूँजी ६० करोड रुपैयाँ र जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैयाँ मात्रै रहेको छ । सर्वसाधारणलाई २४ करोड ९८ लाख ४ रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीले आईपीओ निष्काशनबाट संकलन भएको २४ करोड ९८ लाख ४ हजार रुपैयाँ सबै रकम कर्जा भुक्तानीका लागि प्रयोग गरिने जनाएको छ । सो बराबरको ऋण भुक्तानी गरेपछि ३१ करोड ७७ लाख ९६ हजार रुपैयाँ अझै बाँकी हुने कम्पनीले जनाएको छ ।
दुई वर्षमा साढे ४ करोड माथि नाफा कमाउने
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ४ करोड ६४ लाख ४१ हजार रुपैयाँ संञ्चित नफा आर्जन गर्ने जनाएको छ ।
गत आर्थिक वर्ष अर्थात २०७९/८० को अन्त्यसम्ममा भने कम्पनी ५८ लाख ६५ हजार रुपैयाँ नोक्सानी व्यहोर्ने प्रक्षेपण गरेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा पनि कम्पनी ४६ लाख ७६ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । चालु आर्थिक वर्षमा कम्पनीले १ करोड ७० लाख रुपैयाँ संञ्चित नाफा आर्जन गर्ने अनुमान छ ।
चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४९ पैसा र प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ३५ पैसा पुग्ने अनुमान छ ।
आर्थिक वर्ष २०८१/८२ सम्ममा भने कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७७ पैसा र प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ११ पैसा पुग्ने अनुमान रहेको छ ।
पूँजी संचरना कस्तो?
हाल कम्पनीको अधिकृत पूँजी ६० करोड रुपैयाँ र जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैयाँ मात्रै रहेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरु र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, कर्मचारी तथा सामुहिक लगानी कोष सहित) को लागि २४ करोड ९८ लाख ४ रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँ पुग्नेछ ।
आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेछ ।
सञ्चालक समितिको संरचना
कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना र स्वतन्त्र सञ्चालक १ जना गरी ५ जना सञ्चालक रहने व्यवस्था रहेको छ ।
हाल समितिमा संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना मात्रै सञ्चालक समितिमा रहेका छन् । सर्वसाधारणलाई शेयर निष्काशन भई बाँडफाँट पश्चात आगामी साधारण सभाबाट निर्वाचित भएपछि प्रबन्धपत्र अनुसार सञ्चालक चयन हुने कम्पनीले जनाएको छ ।
कम्पनी सञ्चालक समितिको अध्यक्षमा केदार नाथ पौडेल रहेका छन् । यस्तै कम्पनीका अन्य सञ्चालकहरुमा राज्य लक्ष्मी गुरुङ र लक्ष्मण थापा श्रेष्ठ रहेका छन् ।
भावी योजना तथा रणनीति
कम्पनीले आफ्नो व्यवसाय/सेवाको बृद्धिका लागि चाल्ने भावी योजना र त्यस्तो योजना प्राप्तिका लागि चालिने समयवद्ध रणनीति समेत बनाएको छ ।
कम्पनीको मुख्य उद्देश्य जलविद्युत आयोजनाहरुको अध्ययन, आयोजना निर्माण, विद्युत वितरण, अन्य जलविद्युत आयोजनाहरुमा लगानी र जलविद्युत कम्पनीहरुको धितोपत्रमा लगानी गरि नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ ।
कम्पनीले आफ्नो पूँजी तथा दायित्व समेतलाई विचार गरी आफ्नो उद्देश्य प्राप्तिका लागि व्यवसायिक रुपमा सम्भाव्य देखिएका अन्य जलविद्युत आयोजना कम्पनीहरुमा लगानी गर्ने रणनीति बनाएको छ । त्यसका लागि आगामी आर्थिक वर्ष भित्र सम्भाव्य आयोजनाहरुको पहिचान गर्ने लक्ष्य लिएको समेत छ ।
नयाँ आयोजनाहरुको अध्ययन गर्ने र त्यसमा लगानी गर्न उपयुक्त भए नभएको निक्योल गर्ने, लगानी गर्न उपयुक्त लागेका आयोजनामा लगानी गर्ने रणनीति अख्तियार गरिने र लगानी सम्बन्धी निणर्य गर्दा लगानीको समुचित प्रतिफल प्राप्त गर्ने तर्फ विशेष ध्यान दिने रणनीति लिएको छ ।