खर्च घटेपछि चन्द्रागिरी हिल्सको नाफा सामान्य बढ्यो

Nov 15, 2024 10:04 AM Merolagani



चन्द्रागिरी हिल्स लिमिटेड (CGH) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.४५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी घटेपनि वित्तीय खर्च र कुल खर्च घटेका कारण कम्पनीको नाफा बढेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.९९ प्रतिशत घटेको छ भने कुल आम्दानी ५.६९ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको अन्य आम्दानी ८७.६६ प्रतिशत र कुल खर्च ४.०६ प्रतिशत घटेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ६ करोड ३३ लाख रुपैयाँबाट घटेर ४ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २७ पैसा बढेर १ रुपैयाँ ६६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५६.६५ गुणा रहेको छ।

१ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने ४ करोड ५१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।