सोमबार नेप्से परिसूचक १५.५४ अंक घटेर २५९४.१३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.५६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार, करिब ४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ६४ हजार २७८ पटकको कारोबारमा ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ३८ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८७ रुपैयाँ ३० पैसा बढेर ९६० रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको हो। त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४५ करोड २५ लाख ५१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन न्यादी हाइड्रोपावरको २८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन पावर पार्टनको कारोबार रकम साढे १५ करोड नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.८९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। बाँकी उपसमूहको परिसूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।