नेप्से र कारोबार रकम दुबै घट्यो

Jan 12, 2025 03:18 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक २५.४१ अंक घटेर २६०९.६७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत बिहीबार ७ अर्ब ३० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०१ स्टकको ४६ हजार ६१४ पटकको कारोबारमा ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार रुपैयाँबराबरको ८० लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन २ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन न्यादी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ६९ रुपैयाँ घटेर ६२१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सानिमा ग्रोथ फण्डको इकाईमूल्य साढे ७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ४१ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिन्धु विकास बैंकको करिब १९ करोडको शेयर कारोबार भएको छ भने सिंगटी हाइड्रो इनर्जीको करिब साढे १६ करोडको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.६० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।