सो अवधिसम्ममा ७ फाइनान्सको नाफा ऋणात्मक रहेको छ भने ८ फाइनान्सको नाफा धनात्मक रहेको छ। पुस मसान्तसम्ममा सबैभन्दा बढी नाफा कमाउन फाइनान्स मञ्जुश्री फाइनान्स रहेको छ। सो फाइनान्सले पुस मसान्तसम्ममा ११ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा पोखरा फाइनान्स सबैभन्दा बढी नोक्सानीमा देखिएको छ। सो फाइनान्स दोस्रो त्रैमाससम्ममा ६३ करोड ७९ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। फाइनान्सको खराब कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेसँगै नोक्सानीमा पुगेको हो।
सो अवधिसम्ममा मञ्जुश्री फाइनान्सको खुद ब्याज आम्दानी, कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफा अन्य फाइनान्सहरुको तुलनामा बढी रहेको छ। त्यस्तै, खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी र कुल सञ्चालन आम्दानी सबैभन्दा कम जानकी फाइनान्स रहेको छ।
दोस्रो त्रैमाससम्ममा सबैभन्दा बढी इम्पेरमेन्ट चार्ज पोखरा फाइनान्सको रहेको छ। वित्तीय विवरण अनुसार सो फाइनान्सको इम्पेरमेन्ट चार्ज १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। सो अवधिसम्ममा प्रोग्रशिभ फाइनान्सको इम्पेरमेन्ट चार्ज भने १४ करोड २८ लाख रुपैयाँ रिभर्स भएको छ।
फाइनान्स कम्पनीहरुमध्ये सबैभन्दा बढी चुक्ता पूँजी मञ्जुश्री फाइनान्सको रहेको छ। पुस मसान्तसम्ममा सो फाइनान्सको चुक्ता पूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। सबैभन्दा कम चुक्ता पूँजी भने मल्टीपपर्स फाइनान्सको रहेको छ।
सो अवधिसम्ममा सबैभन्दा बढी जगेडा कोष रहेको फाइनान्स भने गुडविल फाइनान्स रहेको छ। सो फाइनान्सको जगेडा कोषमा ९३ करोड ६३ लाख रुपैयाँ सञ्चित छ। वित्तीय विवरण अनुसार ५ फाइनान्सको जगेडा कोष ऋणात्मक रहेको छ। जसमध्ये जानकी फाइनान्सको जगेडा कोष सबैभन्दा बढी ५३ करोड ८९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
निक्षेप र कर्जाका आधारमा मञ्जुश्री फाइनान्स नै शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सले पहिलो ६ महिनासम्ममा १९ अर्ब ४६ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ४८ करोड ८३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। सबैभन्दा कम निक्षेप संकलन र कर्जा प्रवाह गर्ने फाइनान्स भने समृद्धि फाइनान्स रहेको छ।
वित्तीय विवरण अनुसार खराब कर्जा सबैभन्दा बढी भएको फाइनान्स कम्पनी जानकी फाइनान्स रहेको छ भने सबैभन्दा कम गोर्खाज फाइनान्स रहेको छ। दोस्रो त्रैमाससम्ममा जानकीको खराब कर्जा ४०.८८ प्रतिशत रहेको छ भने गोर्खाजको ३.०६ प्रतिशत रहेको छ।
१५ फाइनान्समध्ये प्रोग्रेशिभ फाइनान्सको प्रतिशेयर आम्दानी सबैभन्दा बढी रहेको छ। पुस मसान्तसम्ममा सो फाइनान्सको यस्तो आम्दानी २० रुपैयाँ १३ पैसा रहेको छ। सो अवधिसम्ममा आइसिएफसि फाइनान्सको मूल्य आम्दानी अनुपात सबैभन्दा कम रहेको छ।
सबैभन्दा बढी नेटवर्थ भएको फाइनान्स कम्पनी गुडविल फाइनान्स रहेको छ भने सबैभन्दा कम नेटवर्थ भएको कम्पनी जानकी फाइनान्स रहेको छ।