दुई तिहाइ सरकारलाई पनि पत्याएन बजारले, साढे दुई महिनामा नेप्से २४४ अंकले घट्यो, कारोबार ६९% ले झ-याे

Jun 16, 2026 06:35 PM Merolagani



जेनजी आन्दोलन पछि भएको चुनावबाट झन्डै दुई तिहाई बहुमतसहितको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भए पनि शेयर बजारले भने सरकारलाई विश्वास गरेको देखिएन । 

चुनावको नतिजा घोषणा सँगै एउटै पार्टीको स्पष्ट बहुमत आउने देखिएपछि राजनीतिक स्थिरता आउने आशाले बजारले सकारात्मक संकेत देखाए पनि बालेन शाह प्रधानमन्त्री भए यता भने बजार निरन्तर झरिरहेको छ ।

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएपछिको साढे दुई महिनाको अवधिमा समग्र शेयर बजार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य गिरावट आएको छ। बालेन गत वर्षको चैत्रको १४ गते प्रधानमन्त्री बनेका हुन भने असार २ गतेसम्मको कारोबार हेर्दा नेप्से परिसूचक ८.२९ प्रतिशत अर्थात २४४.७१ अंकले घटेर २७०५.४५ विन्दु्मा आएको छ । परिसूचकसँगै बजारको दैनिक कारोबार रकममा पनि ६९.२५ प्रतिशतको भारी गिरावट आएको छ। गत चैत्र १२ मा १३ अर्ब १६ करोड २२ लाख ९८ हजार ७१७ रुपैयाँको कारोबार भएकोमा असार २ गते यो कारोबार रकम खुम्चिएर ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार मा झरेको छ।

नेपालको बैकिङ प्रणालीमा विगत २ वर्षदेखि प्रशस्त तरलता रहेको छ । प्रणालीमा तरलता बढी भएर राष्ट्र बैंकले हरेक हप्ता बजारबाट तरलता खिचिरहेको छ । उच्च तरलताका कारण ऋणको व्याज दर समेत ऐतिहासिक रुपमै न्यून दरमा आएको छ । बैंकमा अत्यधिक तरलता र ऋणको व्याज दर न्यून हुँदा शेयर बजार बढ्ने बताउने गरिए पनि पछिल्लो वर्ष यो अर्थशास्त्रको सिद्धान्तले बजारमा काम गरेको देखिएको छैन । बजारमा पर्याप्त तरलता र न्युन व्याज दरका बाबजुद पनि बजार नबढ्नुमा बजार विश्लेषकहरुले अस्थिर राजनीतिक अवस्थालाई कारण बताउने गरेका थिए तर विडम्बना दुई तिहाई बहुमतको विगत ३५ वर्षकै बलियो सरकार बने पनि शेयर बजारले सकारात्मक प्रतिक्रिया नदेखाए पछि भने लगानीकर्तादेखि सर्वसाधारण सबै चिन्तित देखिएका छन् ।

बजार विश्लेषकहरुले अहिलेको यो गिरावटलाई सरकारका केही प्रमुख नीतिगत, प्राविधिक तथा लगानीकर्ताको मनोवैज्ञानिक कारणहरु रहेको बताएका छन् । बजार यसरी उच्च दरले घट्नुको पहिलो कारण नेपाल पुनर्वीमा कम्पनीको शेयर खरिदमा हिमालयन रिइन्स्योरेन्सको रकमलाई जथाभावी तवरले प्रयोग गरिएको काण्डको छानवीन गरी सो काण्डमा संलग्न लगानीकर्तालाई थुन्नु रहेको छ जसले गर्दा जसले गर्दा ठूला तथा संस्थागत लगानीकर्ताहरूको मनोबल कमजोर बनेको छ र बजारमा ‘पर्ख र हेर’ को स्थिति सिर्जना भएको छ।

दोस्रो, आगामी आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक भएसँगै नीतिगत स्पष्टता खोजिरहेका लगानीकर्ताहरू तत्काल आक्रामक रूपमा प्रस्तुत हुन नसक्दा माग पक्ष कमजोर देखिएको छ। बजेटले पुँजीगत लाभकरलाई लगानीकर्ताको माग बमोजिम अन्तिम कर घोषणा गरिदिए पनि लामो समयदेखि सुस्त रहेको बजारमा पुनः अल्पकालीन लाभ करलाई साढे ७ प्रतिशतबाट बढाएर १० प्रतिशत र दीर्घकालीन लाभ कर ५ प्रतिशतबाट बढाएर साढे ७ प्रतिशत बनाउँदा पनि बजार बढ्न नसकेको हो। सरकारले पुँजीगत लाभकरको दर मात्रै वृद्धि गर्दा बजेट पछि त्यसको असरस्वरुप लाभकर असुलीमा ठूलो गिरावट आएको तथ्यांक हालै नेप्सेले सार्वजनिक गरेको हो।

तेस्रो, असार मसान्त नजिकिँदै गर्दा लगानीकर्ताहरूमा बैंकको ब्याज तथा साँवा भुक्तानीको लागि नगद जोहो गर्दा पनि बजारमा बिक्री चाप बढ्न गई बजार घट्न गएको हो । नेपाल धिताेपत्र बाेर्डका निवर्तमान अध्यक्ष सन्ताेषनारायण श्रेष्ठले राजीनामा दिएर मार्ग प्रशस्त गरेकाे दुई महिना बितिसक्दा पनि अध्यक्ष  नियुक्तिमा सरकार उदासिन रहनु पनि बजार गिरावटकाे अर्काे कारण मान्ने गरिएकाे छ।

तथ्यांक अनुसार बजारका १३ मध्ये १२ वटा समूहगत उप–सूचकहरू राताम्मे बनेका छन्। समीक्षा अवधिमा ट्रेडिङ समूहमा सबैभन्दा बढी १८.६९ प्रतिशत र ‘अन्य’ समूहको सूचक १७.०४ प्रतिशतले घटेको छ। त्यसैगरी विकास बैंक समूह ९.५४ प्रतिशत, माइक्रोफाइनान्स ९.२५ प्रतिशत, लगानी ९ प्रतिशत, जीवन बीमा ८.९२ प्रतिशत, फाइनान्स ८.०१ प्रतिशत र बैंकिङ समूह ७.४७ प्रतिशतले ओरालो लागेका छन्। जलविद्युत क्षेत्रमा ६.९३ प्रतिशत र निर्जीवन बीमा समूहमा ५.५३ प्रतिशतको गिरावट आउँदा होटल तथा पर्यटन र म्युचुअल फण्डमा १ प्रतिशतभन्दा कमको सामान्य गिरावट दर्ता भएको छ। समग्र बजार घटिरहँदा उत्पादन तथा प्रशोधन क्षेत्रले भने बजारको विपरीत यात्रा तय गर्दै ४.४१ प्रतिशतको सुधार देखाएको छ।

परिसूचकसँगै उप–सूचकहरूको कारोबार रकममा पनि ठूलो गिरावट आएको छ, जहाँ लगानी समूहको कारोबार ९३.०४ प्रतिशतले घटेको छ भने जीवन बीमा, ट्रेडिङ, माइक्रोफाइनान्स, विकास बैंक र बैंकिङ समूहको कारोबार रकम पनि ७० प्रतिशतभन्दा बढीले ओरालो लागेको छ। यद्यपि, बजार विश्लेषकहरू यो गिरावटलाई बजारको सामान्य चक्रका रूपमा लिँदै आगामी आर्थिक वर्षको लागि राष्ट्र बैंकले ल्याउने नयाँ मौद्रिक नीति तथा त्यससँगै चालु आवको लाभांशको सिजन शुरु हुने हुँदा बजार पुनः सकारात्मक दिशामा अगाडि बढ्ने अपेक्षा लगानीकर्ताको रहेको छ ।




सहयोग नगर्ने कर्मचारी संयन्त्र ढाल्ने पुरानै अस्त्र: २०४८ को गिरिजाबाबुको नजिर पछ्याउँदै वर्तमान सरकार

Jun 13, 2026 11:49 AM

सुवास निरौला

"२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुभो। त्यतिखेर हामी अहिले जस्तो बुढा थिएनौँ। पृथ्वी नै तीन बित्ता उचाल्न  सकिन्छ भन्ने हामीमा उत्साह थियो।