इन्जुरी समयको ड्रामाः क्रोएसियालाई पाखा लगाउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

Jul 03, 2026 07:16 AM Merolagani



फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को सर्वाधिक प्रतिक्षित भिडन्तमा पोर्चुगलले क्रोएसियामाथि २–१ को रोमाञ्चक पुनरागमन जित हासिल गरेको छ।

क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा ९४औँ मिनेटमा वैकल्पिक खेलाडी गोन्सालो रामोसले गरेको गोल निर्णायक बन्यो। यो जितसँगै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल अन्तिम १६ मा पुगेको छ भने लुका मोड्रिच र क्रोएसियाको विश्वकप यात्रा समाप्त भएको छ।

दुई महान् खेलाडीहरू रोनाल्डो र मोड्रिचको विश्वकप इतिहासको सम्भावित अन्तिम भेट मानिएको यस खेलमा नाटक, भीएआरको निर्णय र उत्कट उत्साहको चरम रूप देखियो।

खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक र रणनीतिक रह्यो। दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् र पहिलो हाफ गोलरहित बराबरीमा सकियो।

दोस्रो हाफको सुरुवातमै क्रोएसियाले अग्रता लियो। ५३औँ मिनेटमा क्रोएसियाका अनुभवी विङ्गर इभान पेरिसिचले सानदार प्रहार गर्दै टोलीलाई १–० को अग्रता दिलाए। १ गोलले पछि परेको पोर्चुगलले ६८औँ मिनेटमा पेनाल्टीको अवसर पायो। कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीलाई सहजै गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए। यो गोल रोनाल्डोको विश्वकप करियरकै लागि ऐतिहासिक बन्यो, किनकि उनको यो विश्वकपको नकआउट चरणमा पहिलो गोल हो।

खेल थप समयतर्फ धकेलिने निश्चित देखिइरहेका बेला ९४औँ मिनेटमा राफायल लियाओको पासमा गोन्सालो रामोसले गोल गर्दै पोर्चुगललाई २–१ को रोमाञ्चक जित दिलाए। खेलको अन्तिम सेकेन्डमा क्रोएसियाका जोस्को ग्वार्डिओलले गोल गर्दै खेल बराबरी गरेको भन्दै क्रोएसियाली क्याम्पले खुसीयाली मनाएको थियो, तर लामो भीएआर रिभ्युपछि उक्त गोललाई अफसाइड घोषित गरिएपछि पोर्चुगलको जित पक्का भयो।

राउन्ड अफ १६ मा स्थान सुरक्षित गरेको पोर्चुगलले अब क्वाटरफाइनल प्रवेशका लागि बलियो टोली स्पेनको सामना गर्नेछ। स्पेनले यसअघि नै अस्ट्रियालाई ३–० ले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरिसकेको छ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।