आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल,पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

Oct 26, 2026 02:23 PM merolagani



विश्व क्रिकेटका चर्चित खेलाडीलाई नेपाली मैदानमा हेर्ने समर्थकको उत्साहबीच नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण शुरु हुँदैछ । तर प्रतियोगिता शुरु हुनै लाग्दा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले खेलाडीलाई अब्जेक्सन लेटर (एनओसी) जारी गर्ने प्रक्रिया रोकेको चर्चासँगै एनपिएलका केही फ्रेन्चाइज टोलीको योजना प्रभावित हुने देखिएको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीचको खेलसँगै एनपिएलको तेस्रो संस्करण शुरु हुँदैछ । उक्त खेल साँझ ५ः३० बजे कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदान हुनेछ ।


विश्व क्रिकेटका परिचित खेलाडी र नेपाली प्रतिभाबीचको प्रतिष्पर्धाले यसपटकको लिगलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ । तर पाकिस्तानी खेलाडीको सहभागिताबारे अन्तिम निर्णय नहुँदा प्रतियोगिता शुरु हुनुअघि नै आयोजक नेपाल क्रिकेट संघ (क्यान) दबाबमा परेको छ । पिसिबीले समयसीमा राखेर प्रतिखेलाडी २५ हजार डलर माग गरिरहेको छ । 


पाकिस्तानका टी ट्वान्टी कप्तान साहिबजादा फरहान र हुसेन तलत नेपाल आइसकेका छन् । हैदर अली, हुनैन साह, इफ्तिखार अहमद, हसन अली र उसामा मिर पनि एनपिएलमा सहभागी हुने खेलाडीको सूचीमा छन् । तर पिसिबीले एनओसी जारी गर्ने प्रक्रिया रोकेको बताइएपछि उनीहरूको सहभागिता सुनिश्चित हुन सकेको छैन । केही खेलाडी नेपाल आइसकेको अवस्थामा समेत अनुमति रोकिएको चर्चा छ भने अन्य खेलाडीको नेपाल आउने यात्रा निर्णय नहुँदासम्म स्थगित भएको बताइएको छ । 
विदेशी फ्रेन्चाइज लिग खेल्न सम्बन्धित राष्ट्रिय क्रिकेट बोर्डबाट अनुमति लिनुपर्ने व्यवस्था छ । त्यसैले पिसिबीको निर्णयले पाकिस्तानी खेलाडीको सहभागिता प्रत्यक्ष रूपमा निर्धारण गर्नेछ । एनओसी नपाएमा उनीहरूले प्रतियोगिता खेल्न पाउने छैनन् । यसले विदेशी स्टार खेलाडीको उपस्थितिबाट एनपिएलको आकर्षण बढाउने योजनामा समेत असर पार्न सक्छ ।
प्रतियोगिताको तयारी पूरा भएको घोषणा गरेको क्यानका लागि अब खेलाडीको सहभागिता सुनिश्चित गर्नु अर्को चुनौती बनेको छ । 


क्रिकेट कुटनीतिको प्रभाव ?


पाकिस्तानी खेलाडीको एनओसीसम्बन्धी विवादले क्रिकेट प्रशासनबीचको सम्बन्धबारे पनि प्रश्न उठाएको छ । क्यान र पिसिबीबीचको सम्बन्ध राम्रो नरहेको चर्चा भइरहेका बेला यस घटनालाई भारत र पाकिस्तानबीचको क्रिकेट तनावसँग जोडेर पनि हेरिएको छ । नेपाल भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) सँग निकट रहेको र त्यसले पिसिबीको निर्णयमा प्रभाव पारेको हुन सक्ने अनुमानसमेत गरिएको छ । तर यसबारे कुनै आधिकारिक प्रमाण सार्वजनिक भएको छैन ।


भारत र पाकिस्तानबीच लामो समयदेखि राजनीतिक तनाव कायम छ । त्यसको प्रभाव क्रिकेटमा समेत देखिँदै आएको छ । दुई देशबीच नियमित द्विपक्षीय क्रिकेट श्रृंखला नहुने र बहुराष्ट्रिय प्रतियोगितामा समेत सम्बन्धित पक्षबीच विवाद देखिने गरेको  छ। एसिसीको नेतृत्वमा रहेका नक्भी र भारतीय क्रिकेट अधिकारीबीचको तनावका घटनाले पनि एसियाली क्रिकेटको प्रशासनिक सम्बन्धलाई चर्चामा ल्याउने गरेको छ । तर एनपिएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा पर्नुको कारण क्रिकेट कुटनीति नै हो भनेर निष्कर्ष निकाल्न मिल्दैन। पिसिबीले औपचारिक धारणा सार्वजनिक नगरेसम्म यस घटनाको वास्तविक कारण स्पष्ट हुनेछैन । क्यानले पनि सबै देशका क्रिकेट संघसँग समान र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै पाकिस्तानी खेलाडी सहभागी हुने विश्वास व्यक्त गरेको छ । 


पिसिबीले यसअघि अमेरिकाको मेजर लिग क्रिकेट (एमएलसी) मा पनि पाकिस्तानी खेलाडीको एनओसीका लागि प्रतिखेलाडी २५ हजार डलर मागिएको आरोप सार्वजनिक भएको थियो । त्यस घटनाको विवरण र एनपिएलको अहिलेको विवादबीच समानता भएपनि दुवै घटना एउटै कारण भएको मान्न सकिँदैन ।

एनपिएलको तेस्रो संस्करणमा दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्याण्ड, इङ्ल्याण्ड, वेस्ट इण्डिज, बंगलादेश, पाकिस्तान र श्रीलंकालगायत देशका खेलाडी सहभागी हुँदै छन् । डेभिड मिलर, डेभिड वार्नर, आन्द्रे रसेल, जेम्स निसम, मोइन अली र शाकिब अल हसनजस्ता चर्चित खेलाडीको उपस्थितिले प्रतियोगिताको अन्तर्राष्ट्रिय आकर्षण बढाउने अपेक्षा छ । पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित हुँदा भने उनीहरूलाई अनुवन्ध गरेका टोलीले वैकल्पिक योजना बनाउनुपर्ने अवस्था आउन सक्छ ।

एनपिएलको विजेताले यसपटक एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् । आठ फ्रेन्चाइज टोली सहभागी प्रतियोगिता नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ । सोमवारदेखि २७ दिनसम्म चल्ने एनपिएलमा कुल ८ फ्रेन्चाइज टोली प्रतिष्पर्धा गर्दैछन् ।

११ दिनसम्म हरेक दिन समान दुई खेल हुनेछ । बाँकी १० दिन समान एक खेल तय हुँदा तेस्रो संस्करण कुल ३२ खेलको प्रतिष्पर्धा रहनेछ । अहिलेसम्म जनकपुर बोल्ट्सले पहिलो संस्करण र लुम्बिनी लायन्सले दोस्रो संस्करणको उपाधि जितेका थिए । सुदूरपश्चिम रोयल्स दुवै संस्करणको उपविजेता हो ।  सुदूरपश्चिमले यसपल्ट पाकिस्तानका पूर्व क्रिकेटर मिसबाह उल हकलाई भविष्यका रूपमा भित्र्याएको छ भने वेस्ट इण्डिजका स्टार क्रिकेटर फाबियन एलन र शेरफन रुथरफर्ड जिस्ता बिग हिटरलाई अनुवन्ध गर्दै यसपल्ट थप बलियो बन्ने संकेत गरेको छ । दीपेन्द्रसिंह ऐरी जस्ता एसोसिएट क्रिकेटकै उत्कृष्ट अलराउण्डर रहेको सुदूरपश्चिम राम्रा विदेशी र स्वदेशी खेलाडीसहित सन्तुलित टोली बनेको छ । दक्षिण अफ्रिकाका डेभिड मिलर, अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, न्युजिल्यान्डका जेम्स निसम, इङ्ल्यान्डका मोइन अली र रवि बोपारा तथा वेस्ट इन्डिजका शेरफेन रदरफोर्डजस्ता परिचित नाम छन् । बंगलादेशका शकिब अल हसन, जिम्बाब्वेका सिकन्दर राजा, पाकिस्तान क्रिकेटका कप्तान साहिबजादा फरहान, हुसेन तलत, श्रीलंकाका एन्जेलो म्याथ्युज र चरिथ असालंकाले पनि यस संस्करणदेखि खेल्ने भएपछि एनपिएल नयाँ उचाइमा पुगेको छ ।

पाकिस्तानका उसामा मिर र इफ्तिखार अहमद, अमेरिकाका हरमित सिंह, शुभम रञ्जने र शेड्ली भान स्काल्कविक, क्यानडाका कलिम साना, इङ्ल्यान्डका साइफ अली जैब, न्युजिल्यान्डका स्कट कुगेलाइन, अस्ट्रेलियाका डार्सी शर्ट तथा श्रीलंकाका निरोशन डिकवेला र चमिका करुणारत्नेजस्ता खेलाडीले पनि प्रतियोगिताको आकर्षण बढाउने अपेक्षा छ । बंगलादेशका अरिफुल इस्लाम, मोहम्मद अकबर अली, महेदी हसन र मोहम्मद सैफुद्दिन, स्कटल्यान्डका मार्क वाट, नामिबियाका रुबेन ट्रम्पलम्यान, भारतका कोना श्रीकर भरत, श्रीलंकाका सहान अराच्चिगे र धनञ्जय लक्षण तथा न्युजिल्याण्डका ब्रान्डन म्याकमुलन छन् । यी खेलाडीसँगको प्रतिष्पर्धाले नेपाली खेलाडीको क्षमता पनि वृद्धि हुनेमा दुई मत छैन ।


यस्ता खेलाडीको उपस्थितिले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव नजिकबाट बुझ्ने अवसर दिन्छ ।  त्यसैले तेस्रो सिजन नेपाली क्रिकेटका लागि महत्वपूर्ण बन्ने आशा गरिएको छ ।




६२ कम्पनीले गरे लाभांश घोषणा, कसले कति दिए धेरै, कुन क्षेत्र अगाडि?

Oct 25, 2026 09:53 AM

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरूले चालु आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरूलाई लाभांश घोषणा गर्ने क्रम तीव्र बनाएका छन्। सूचीकृत कम्पनीहरूमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था, जलविद्युत्, उत्पादनमूलक तथा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरूले प्रतिफल घोषणा गरिसकेका छन्।