उद्घाटन भए लगत्तै पहिलो खेल शुरु भएको छ । यस अघि भएको टस जितेको लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।
त्यहीअनुसार अहिले सुदूर पश्चिम रोयल्सले ब्याटिङ गरेको हाे। लुम्बिनी लायन्स गत सिजनको विजेता टोली हो भने सुदूर पश्चिम रोयल्स उपविजेता टोली हो ।
एनपिएलको तेस्रो संस्करणमा दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्याण्ड, इङ्ल्याण्ड, वेस्ट इण्डिज, बंगलादेश, पाकिस्तान र श्रीलंकालगायत देशका खेलाडी सहभागी हुँदै छन् । डेभिड मिलर, डेभिड वार्नर, आन्द्रे रसेल, जेम्स निसम, मोइन अली र शाकिब अल हसनजस्ता चर्चित खेलाडीको उपस्थितिले प्रतियोगिताको अन्तर्राष्ट्रिय आकर्षण बढाउने अपेक्षा छ । पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित हुँदा भने उनीहरूलाई अनुवन्ध गरेका टोलीले वैकल्पिक योजना बनाउनुपर्ने अवस्था आउन सक्छ ।
एनपिएलको विजेताले यसपटक एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् । आठ फ्रेन्चाइज टोली सहभागी प्रतियोगिता नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ । सोमवारदेखि २७ दिनसम्म चल्ने एनपिएलमा कुल ८ फ्रेन्चाइज टोली प्रतिष्पर्धा गर्दैछन् ।
११ दिनसम्म हरेक दिन समान दुई खेल हुनेछ । बाँकी १० दिन समान एक खेल तय हुँदा तेस्रो संस्करण कुल ३२ खेलको प्रतिष्पर्धा रहनेछ । अहिलेसम्म जनकपुर बोल्ट्सले पहिलो संस्करण र लुम्बिनी लायन्सले दोस्रो संस्करणको उपाधि जितेका थिए । सुदूरपश्चिम रोयल्स दुवै संस्करणको उपविजेता हो । सुदूरपश्चिमले यसपल्ट पाकिस्तानका पूर्व क्रिकेटर मिसबाह उल हकलाई भविष्यका रूपमा भित्र्याएको छ भने वेस्ट इण्डिजका स्टार क्रिकेटर फाबियन एलन र शेरफन रुथरफर्ड जिस्ता बिग हिटरलाई अनुवन्ध गर्दै यसपल्ट थप बलियो बन्ने संकेत गरेको छ । दीपेन्द्रसिंह ऐरी जस्ता एसोसिएट क्रिकेटकै उत्कृष्ट अलराउण्डर रहेको सुदूरपश्चिम राम्रा विदेशी र स्वदेशी खेलाडीसहित सन्तुलित टोली बनेको छ । दक्षिण अफ्रिकाका डेभिड मिलर, अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, न्युजिल्यान्डका जेम्स निसम, इङ्ल्यान्डका मोइन अली र रवि बोपारा तथा वेस्ट इन्डिजका शेरफेन रदरफोर्डजस्ता परिचित नाम छन् । बंगलादेशका शकिब अल हसन, जिम्बाब्वेका सिकन्दर राजा, पाकिस्तान क्रिकेटका कप्तान साहिबजादा फरहान, हुसेन तलत, श्रीलंकाका एन्जेलो म्याथ्युज र चरिथ असालंकाले पनि यस संस्करणदेखि खेल्ने भएपछि एनपिएल नयाँ उचाइमा पुगेको छ ।
पाकिस्तानका उसामा मिर र इफ्तिखार अहमद, अमेरिकाका हरमित सिंह, शुभम रञ्जने र शेड्ली भान स्काल्कविक, क्यानडाका कलिम साना, इङ्ल्यान्डका साइफ अली जैब, न्युजिल्यान्डका स्कट कुगेलाइन, अस्ट्रेलियाका डार्सी शर्ट तथा श्रीलंकाका निरोशन डिकवेला र चमिका करुणारत्नेजस्ता खेलाडीले पनि प्रतियोगिताको आकर्षण बढाउने अपेक्षा छ । बंगलादेशका अरिफुल इस्लाम, मोहम्मद अकबर अली, महेदी हसन र मोहम्मद सैफुद्दिन, स्कटल्यान्डका मार्क वाट, नामिबियाका रुबेन ट्रम्पलम्यान, भारतका कोना श्रीकर भरत, श्रीलंकाका सहान अराच्चिगे र धनञ्जय लक्षण तथा न्युजिल्याण्डका ब्रान्डन म्याकमुलन छन् । यी खेलाडीसँगको प्रतिष्पर्धाले नेपाली खेलाडीको क्षमता पनि वृद्धि हुनेमा दुई मत छैन ।
यस्ता खेलाडीको उपस्थितिले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव नजिकबाट बुझ्ने अवसर दिन्छ । त्यसैले तेस्रो सिजन नेपाली क्रिकेटका लागि महत्वपूर्ण बन्ने आशा गरिएको छ ।
