एम्बाप्पेले के भने जसले गर्दा चिनियाँ ब्रान्डहरूले फुटबलर एम्बाप्पेलाई बहिष्कृत गर्न थाले

Oct 27, 2026 03:34 PM merolagani



केली एनजी(बीबीसी)

दिवंगत चिनियाँ नेता माओत्सेतुङलाई लक्षित गरी गरिएको कथित टिप्पणीलाई लिएर अनलाइनमा तीव्र आक्रोश बढेपछि विभिन्न प्रमुख चिनियाँ ब्रान्डहरूले फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेसँगको व्यावसायिक सम्झौता रद्द गरेका छन्।

रिपोर्टहरूका अनुसार, एम्बाप्पेले फ्रान्सेली टक शो ‘द ब्रिज’ (The Bridge) मा आफूलाई निकै हाँसो उठ्ने एउटा ‘मिम’ (Meme) बारे चर्चा गरेका थिए। उनले भनेका थिए, "मलाई सबैभन्दा धेरै हँसाउने एउटा भिडियो मिम छ, जसमा देखिने व्यक्ति सायद कुनै चिनियाँ तानाशाह हुन्।" उनी बोल्दै गर्दा माओको जस्तो देखिने तस्बिरमा एम्बाप्पेकै अनुहार जोडिएको एउटा मिम स्क्रिनमा देखाइएको थियो।

रियल म्याड्रिडका फरवार्डले अनलाइनमा भाइरल भइरहेको सो क्लिपमा थपेका छन्, "म आफ्ना साथीहरूसँग यो मिम बारम्बार प्रयोग गर्छु।"

उक्त भिडियोमा एम्बाप्पेले माओको नाम स्पष्ट रूपमा नलिए पनि र मूल भिडियो कार्यक्रमको युट्युब च्यानलबाट हटाइसकिएको भए तापनि त्यसका स्क्रिनसटहरू चिनियाँ सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन्।

यस विषयमा चीनको विदेश मन्त्रालयले समेत चासो देखाएको छ। मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा भने, "हामीले सम्बन्धित रिपोर्टहरूलाई ध्यानमा राखेका छौँ। चिनियाँ जनताको भावनामा चोट पुर्‍याउने बोली र व्यवहारको चिनियाँ समाजका सबै क्षेत्रबाट स्वाभाविक रूपमा विरोध हुनेछ।"

हालसम्म एम्बाप्पे र कार्यक्रम ‘द ब्रिज’ दुवैले यसबारे कुनै औपचारिक टिप्पणी गरेका छैनन्।

अन्तर्वार्ता कहिले रेकर्ड भएको थियो भन्ने यकिन नभए पनि चिनियाँ फुटबल मञ्च ‘डोङकिउडी’ (Dongqiudi) ले सोमबार राति एक विज्ञप्ति जारी गर्दै उक्त टिप्पणी "अनुपयुक्त" र "चिनियाँ जनताको भावनामा चोट पुर्‍याउने खालको" भएको बताएको छ। मञ्चले विज्ञप्तिमा थपेको छ, "उहाँको टिप्पणी चीन र यहाँका जनताप्रति आपत्तिजनक रहेकाले हामी त्यसको अनुवाद गर्न असमर्थ छौँ।"

चीनमा अत्यधिक लोकप्रिय र विशाल व्यावसायिक बजार भएका एम्बाप्पेमाथि चिनियाँ सामाजिक सञ्जालमा दोहोरो चरित्र देखाएको आरोप लागेको छ। एक प्रयोगकर्ताले लेखेका छन्, "चिनियाँ बजारबाट मनग्य नाफा कमाउने, तर चिनियाँ जनतालाई नै अपमान गर्ने?"

विबो (Weibo) का अर्का प्रयोगकर्ताले लेखेका छन्, "विशेषगरी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वहरूले सम्मान र संवेदनशीलता देखाउनुपर्छ। राष्ट्रिय भावनालाई कहिल्यै हल्का रूपमा लिनु हुँदैन।"

माओले सन् १९४९ मा आधुनिक कम्युनिस्ट चीनको स्थापना गरेका थिए र सन् १९६० तथा ७० को दशकको अशान्त समयमा देशको नेतृत्व गरेका थिए। तीव्र औद्योगिकीकरणका लागि उनले अघि सारेको 'ग्रेट लिप फरवार्ड' का कारण निम्तिएको अनिकालले करोडौँ मानिसको ज्यान लिएको थियो। त्यसपछि भएको 'सांस्कृतिक क्रान्ति'मा बौद्धिक वर्ग, भूस्वामी, कलाकार तथा पार्टीभित्रकै विपक्षीहरूमाथि दमन गरिएको थियो।

सन् १९७६ मा उनको निधनपछि चीनमा आर्थिक खुलापन र सुधारको नयाँ युग सुरु भए पनि चिनियाँ कम्युनिस्ट पार्टीले माओलाई एक सम्मानित राष्ट्रिय प्रतीकका रूपमा प्रस्तुत गर्दै आएको छ। चीनमा उनको सार्वजनिक आलोचनालाई अक्षम्य मानिन्छ।

एम्बाप्पेविरुद्धको आक्रोश चुलिँदै जाँदा चिनियाँ सञ्चारमाध्यम ‘द पेपर’का अनुसार, सरकारी प्रसारक सीसीटीभी (CCTV) ले स्पेनिस ला लिगाका खेलहरूको प्रसारण स्थगित गर्ने तयारी गरेको छ। साथै, सरकारी अखबार 'ग्लोबल टाइम्स' का अनुसार सीसीटीभीको समाचार एपबाट फ्रान्सेली स्ट्राइकरसँग सम्बन्धित सबै सामग्रीहरू हटाइएका छन्।

यसैबीच, चिनियाँ ब्रान्डहरूले विवादास्पद क्लिपको सीधै नाम नलिए पनि राष्ट्रिय भावनामा चोट पुगेको भन्दै सम्झौता तोड्न थालेका छन्। चीनको सबैभन्दा ठूलो दुग्ध उत्पादक कम्पनी ‘मेङ्गन्यु’ (Mengniu) ले "चिनियाँ जनताको भावनामा चोट पुर्‍याउने कुनै पनि कार्यप्रति शून्य-सहनशीलता (जिरो टोलेरेन्स) नीति रहने" स्पष्ट पारेको छ। त्यस्तै पेय पदार्थ उत्पादक ठूलो कम्पनी 'डोङपेङ'ले पनि राष्ट्रिय स्वाभिमानमा चोट पुर्‍याउने कुनै पनि गतिविधिको कडा विरोध गरेको छ।

क्लब र राष्ट्रिय टोलीमा उनको अत्यधिक प्रभाव र नियन्त्रणका कारण फुटबल जगतमा एम्बाप्पेलाई व्यङ्ग्यात्मक रूपमा "तानाशाह" (Dictator) उपनामले समेत बोलाउने गरिन्छ। सन् २०२४ मा उनले आफ्नो नाम मेनुमा प्रयोग गरेको भन्दै फ्रान्सका एक कबाब पसल सञ्चालकविरुद्ध कानुनी मुद्दा दायर गरेपछि यो उपनाम थप चर्चामा आएको थियो।

यही उपनामका कारण एम्बाप्पेमाथि सामाजिक सञ्जालमा थुप्रै मिमहरू बन्ने गरेका छन्। फ्रान्सका उनका टोलीका साथी उस्मान डेम्बेलेले समेत एकपटक उनलाई कंगोका तत्कालीन शासक 'मोबुटु'सँग तुलना गरेका थिए।

यसअघि सेप्टेम्बरमा 'फ्रान्स फुटबल'सँगको एक अन्तर्वार्तामा एम्बाप्पेले यस्ता मिमहरूलाई हलुका ठट्टाका रूपमा लिए पनि कहिलेकाहीँ यसले गम्भीर ऐतिहासिक चेतनाको कमी देखाउने बताएका थिए। उनले भनेका थिए, "इतिहासमा ती व्यक्तिहरूले पुर्‍याएको क्षति हेर्दा यो त्यति हाँस उठ्दो विषय होइन। लाखौँ मानिसको हत्या गर्ने वा उनीहरूलाई पीडा दिने व्यक्तिहरूसँग मेरो तुलना गरिँदैछ... मैले आफ्नो जीवनमा त्यस्तो केही गरेको छैन।"