दक्षिण एसियाका धेरै मुलुकहरुमा पूँजी बजारको स्थापना भएसँगै अनलार्इन प्रणलीमा गएपनि नेपालमा भने यसको थालनी भएको थिएन ।
नेप्से स्थापना भएको १४ बर्षपछि शेयर बजार कम्युटराईज प्रणालीमा लगिएको थियो । अहिले नेप्से स्थापनाको २५ वर्षपछि आएर पूर्ण स्व:चालित अनलाइन प्रणालीमा लागू भएको छ ।
लगानीकर्ताहरुले सरोकारवाला निकायहरुमा बुझाउने ज्ञापनपत्रका धेरै बुँदाहरुमा बजारलाई अनलार्इन प्रणालीमा लानु पर्ने भनेर दवाब दिएकै हुन्थे । राजनितिक संक्रमणकाल लम्बिएकोले राज्य संयन्त्रको सम्पूर्ण ध्यान राजनीतिक मुद्दा केन्द्रीत हुँदा अरु बिषय जस्तै पूँजी बजारले स्थान पाएको थिएन ।
पूँजी बजारको यति लामो इतिहास भएको नेपालमा अनलार्इन प्रणलीको शुरुवात हुँदैमा त्यति धेरै खुशी नहुनुपर्ने हो तर यहाँका लगानीकर्ताले आज निकै प्रसन्नता देखाएका छन् । देशको तरल राजनितिक अवस्था मात्र होइन लगानीकर्तामा पूँजी बजार शिक्षाको अभाव, इन्टरनेटमा सीमित लगानीकर्ताको पहुँच पनि अनलार्इन प्रणाली ढिला हुने कारण थिए ।
२०५० सालमा स्थापना भएको नेप्से २०६४ सम्म ओपन क्राइको अवस्थामा रहनु र कम्युटराइज्ड भएको पनि ११ वर्षपछि मात्र अनलाईनमा जानुले नेप्सेको सुस्ततालाई पुष्टि गर्छ ।
नेपाल स्टक एक्सचेन्ज र वाइको प्रालिबीच २०७२ फागुन ४ गते स्व:चालित अनलार्इन प्रणालीको निर्माण गर्ने सम्झौता भएको थियो। सम्झौता अनुसार ११ महिनामै अनलार्इन प्रणाली आउनुपर्ने थियो । तर, करीब तीन बर्षपछिमात्र अनलाइन आउन सफल भएको छ । सम्झौता अनुसार ११ महिनामै आएको भए इन्टरनेटको पहुँच पुगेका दूर दराजसम्म अनलाइन प्रणाली स्थापित भइसक्ने थियो ।
अनलार्इन प्रणालीलाई स्वागत गरिरहँदा तत्कालका लागि यसका केही सीमा रहेका छन् । जानकारहरुका अनुसार यो प्रणालीमा अझै पूर्ण भइसकेको छैन ।
नेपालमा उपलब्ध इन्टरनेटको क्षमताले कतिको सपोर्ट गर्छ भनेर शंका गर्ने ठाँउ छ ।
अनलार्इन उद्घाटन भएकै दिन नेप्सेको साइटमा आएको समस्याले पनि लगानीकर्ता सशंकित भए । ११ बजेसम्म पाँचतारे होटलमा अनलार्इन प्रणालीको उद्घाटन हेरेर मख्ख परेका लगानीकर्ता लगत्तै नेप्सेको साइट खोल्दा निरास भए । यस्तै भए के होला र खै ? भनेर आफैँलाई प्रश्न गरेको अवस्था पनि रह्यो ।
अहिले नै लगानीकर्ताले मोबाइलबाट सम्पुर्ण प्रकृया पुरा गरेर शेयर किन्ने अवस्था छैन । खरिद बिक्रीको लागि पूर्ण रुपमा बैंकिङ्ग प्रणालीको विकास भएको अवस्था छैन । लगानीकर्ताले ब्रोकरकोमा कारोबारको लिमीट राखेर मात्र यो सिस्टम प्रयोग गर्न सक्छन् ।
बैकिङ्ग प्रणालीको सहज पहुँच यो प्रणालीको लागि आगामी दिनमा अनिवार्य शर्त हो । यो प्रणालीको प्रयोगले विस्तारै दोश्रो बजारपनि कागज बिहीन हुँदै जान्छ, यो धेरै राम्रो कुरा हो । अनलार्इन प्रणालीमा गइसकेपछि कम्पनी विवरणहरु पनि नेप्सेको बेभसाइटमा राखे अनलार्इन प्रणालीका प्रयोगकर्ता लगानीकर्तालाई दोहोरो फाइदा हुन्छ । प्रणालीलाई अपडेट गर्ने क्रममा नेप्सेले यो कुरामा ध्यान दिए धेरै राम्रो हुन्छ ।