अर्कोतर्फ बुधबार २२ अंकले घटेको नेप्से सरकारले पूँजी बजारमा देखा परेको समस्याहरु सुल्झाउनका लागि डेपुटी गर्भनरको अध्यक्षतामा कार्यदल गठन गरेपछि लगानीकर्ताको मनोबल उठ्दा बजारले सकारात्मक दिशा लिएको हो । यस दिन मा लगानीकर्ताले साना तथा मझौला कम्पनीमा शेयरमूल्य बढेको छ।
बिहीबार नेप्से २.७० को झिनो अंकले बजारमा सुधार हुँदा ११२०.८४ बिन्दुमा उक्लेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सन्सेटिभ इन्डेक्स पनि ०.५४ अंक बढेर २३८.३३ अंकमा पुगेको छ ।
कूल कारोबारमा आएका १६२ कम्पनीका १३ लाख ७४ हजार ३४६ कित्ता शेयर ३७ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भयो । बुधबार पनि ३७ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।
आठ उप-सूचक सकारात्मक
यस दिन कारोबारमा आएका दश उप सूचक आठ सकारात्मक रह्यो भने दुई सूचकमा गिरावट देखियो । सबैभन्दा धेरै जीवन बीमा कम्पनीको ४४.०७ अंकले सकारात्मक बनेको छ । यस्तै निर्जीवन बीमा ३५.५९, विकास बैंक ३.३१ र वाणिज्य बैंक २.५५ अंकले बढेको छ ।
यस दिन हाइड्रोपावरको सूचक सबैभन्दा धेरै ९.८१ अंकले घटेको छ भने उत्पादन तथा प्रशोधन उप समूहको सूचक पनि २.६२ अंकले नकारात्मक बनेको छ ।
एनएमबि बैंकको उच्च काराेबार
बिहीबार एनएमबि बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको एक लाख २६ हजार ५४३ कित्ता शेयर ४ करोड ४६ लाख रुपैयाँको बराबरको कारोबार भएको हो । नेपाल बैंकको ३ करोड ३२ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको एक करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।
यस्तै माच्छापुछ्रे बैंकको संस्थापक शेयर सबैभन्दा धेरै एक लाख २८ हजार ८८१ कित्ता शेयर एक करोड ६७ लाखमा कारोबार भएको छ । प्रभु बैंकको पनि एक करोड ६० लाख रुपैयाँ बराबरको किनबेच भए ।
नेपाल लाइफ इन्स्योरेन्स र सानिमा बैंकको पनि एक करोड भन्दा बढीको कारोबार भएको छ भने अन्य कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन ।
कालिका लघुवित्तकाे शेयरमूल्यमा लाभांशकाे ऋणात्मक असर
आजै मात्र गत आर्थिक वर्षको नाफाबाट ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको कालिका लघुवित्तको शेयरधनीहरुले भने सबैभन्दा धेरै ७.४२ प्रतिशतले घटेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत कम लाभांश प्रस्ताव गरेपछि उच्च दरमा शेयरमूल्य घटेको हो ।
यस्तै महिला सहयात्रा माइक्रोफाइनान्सको ५.६८ प्रतिशत, युनाईटेड मोदी हाइड्रोपावरको ४.५१ र काबेली विकास बैंकको ४.४२ प्रतिशतले शेयरमूल्य घटेको छ । रैराङ्ग हाइड्रोपावर, आरम्भ माइक्रोफाइनान्स, राधी विद्युत कम्पनीको शेयरधनीहरुले ३ प्रतिशत हराहारीले गुमाएका छन् ।
हिमालयन डिस्टिलरी, चिलिमे जलविद्युत र नेशनल माइक्रोफाइनान्सको शेयर मूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ ।
यता बिहीबारको बजारमा आईएमइ जनरल इन्स्योरेन्सको शेयरधनीले सबैभन्दा बढी ७.३० प्रतिशत नाफा आर्जन गरेका छन् । यस्तै अपि हाइड्रोपावरको ५.६७, सूर्या लाइफ इन्स्योरेन्सको ३.९३, पोखरा फाइनान्सको शेयरमूल्य ३.९१ प्रतिशतले बढेको छ ।
गुराँस लाईफ, विजय लघुवित्त, प्राइम लाईफ, नाडेप लघुवित्तको शेयर मूल्य पनि ३ प्रतिशत बढी बढेको छ ।