छिमेक लघुवित्त संस्थाका अनुसार गत आर्थिक वर्षको कमाईबाट आफ्ना शेयरधनीलाई १८ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पुन: राष्ट्र बैंकमा पेश गरिएको छ ।
नेपाल राष्ट्र बैंकले यसअघि लघुवित्तलाई लाभांश वितरणमा रोक लगाउँदै नियामकीय निर्देशन पालन गर्न निर्देशन दिएको थियो ।
राष्ट्र बैंकले छिमेक समाज संस्थाले सुरक्षण बापत जम्मा भएको रकमबाट गरेका लगानीहरु छिमेक लघुवित्त संस्थाको नाममा फिर्ता ल्याई सो लगानीहरु विनिवेश नगरुन्जेलसम्म लाभांश स्वीकृत नगर्ने निर्णय गरेको थियो ।
राष्ट्र बैंकको निर्देशन बमोजिम छिमेक समाज संस्थाको सबै प्रकारको सम्पत्ति तथा लगानी लघुवित्तको मातहतमा ल्याइएको संस्थाले जनाएको छ। नियामकीय निर्देशन अनुसारका सबै बिषयहरु पूरा गरेकाले यसपालि राष्ट्र बैंकबाट लाभांश स्वीकृत हुनेमा कम्पनी विस्वस्त देखिएको छ ।
'हामीले राष्ट्र बैंकले भने अनुसार सबै प्रक्रिया पुरा गरेका छौं । अब प्रस्तावीत लाभांश रोक्नुपर्ने कुनै कारण रहँदैन ।' लघुवित्तका एक उच्च अधिकारीले मेरोलगानीलाई भने ।
अहिले छिमेकको चुक्ता पूँजी १ अर्ब रुपैयाँ छ । नेपाल राष्ट्र बैंकबाट प्रस्तावित लाभांश स्वीकृत भएर साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् । प्रस्तावित बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
गत आर्थिक वर्षमा लघुवित्तले ६६ करोड ३८ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएर ६६ रुपैयाँ ३९ पैसा प्रतिशेयर आम्दानी कायम गरेको थियो ।