प्राइम बैंकको बोनस सुरक्षित गर्ने बुधबार अन्तिम दिन, जेठ २६ गते एजिएम

May 22, 2019 Merolagani



प्राइम बैंक (PCBL) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने जेठ ८ गते बुधबार अन्तिम दिन रहेको छ ।

बैंकको शेयर जेठ ७ गते मंगलबार प्रतिकित्ता ३६३ रुपैयाँमा नेप्सेमा कारोबार भएको छ ।

जेठ २६ गते आइतबार नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा बिहान १० बजे आह्वान गरेको एघारौं वार्षिक साधारण सभाका लागि बैंकले जेठ ९ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने बैंकले जनाएको छ ।

यस अनुसार जेठ ८ गते बुधबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनी मात्र बैंकको लाभांश र साधारण सभामा सहभागिता जनाउन सक्नेछ।

ओम डेभलपमेन्टलाई खरिद गर्ने प्रक्रिया भाँडिएपछि प्राइमले सभामा मर्जर वा एक्विजिशनमा जान नयाँ पार्टनरको खोजी गर्न आवश्यक प्रकृया पुर्याउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्दैछ ।

राष्ट्र बैंकले तीन महिना भित्र अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनमा जान निर्देशन दिएकाले पनि बैंक तुरुन्तै पार्टनर खोज्नुपर्ने अवस्थामा छ ।

प्राइमको हाल चुक्ता पूँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ छ । १६ प्रतिशत बराबरको एक अर्ब २८ करोड ५३ लाख २७ हजार ८४० रुपैयाँ बोनस वितरणपछि चुक्ता पूँजी ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार ८४० रुपैयाँ पुग्नेछ ।

साथै बैंकले अधिकृत पूँजी १० अर्बबाट २० अर्ब पुर्याउने प्रस्ताव समेत साधारण सभामा लग्दैछ । साधारण सभाले संस्थापक शेयरधनीहरुबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना गरी ५ जना सञ्चालक  निर्वाचन समेत गर्नेछ ।