
अजोड, सानिमा र जनरल इन्स्योरेन्स गत वर्षदेखि सञ्चालनमा आएका नयाँ निर्जीवन बीमा कम्पनीहरु हुन्। सबै कम्पनीको चुक्ता पूँजी समान ७० करोड रुपैयाँ छ।
बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरुले न्यूनतम चुक्ता पूँजी एक अर्ब पुर्याउनु पर्ने छ। त्यस अनुसार हरेक कम्पनीहरुले जारी पूँजीको ३० प्रतिशत आईपिओ सार्वसाधारणलाई जारी गरी न्युनतम चुक्ता पूँजी पुर्याउने तयारी समेत गरिसकेका छन्।
- खुद बीमा शुल्कमा जनरल इन्स्योरेन्सको ४१ प्रतिशत योगदान
तीन नयाँ निर्जीबन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौंथो त्रैमास सम्ममा कुल ३९ करोड ३७ लाख रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन्।
जसमा जनरल इन्स्योरेन्सको मात्रै ४१.७९ प्रतिशत अर्थात १६ करोड ४५ लाख रुपैयाँकाे योगदान छ।
यस्तै अजोड इन्स्योरेन्सले १५ करोड ४८ लाख रुपैयाँ र सानिमा इन्स्योरेन्सले सबै भन्दा कम ७ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो।
- खुद नाफामा अजोड इन्स्योरेन्स अघि
जनरल इन्स्योरेन्सकाे खुद बीमा शुल्क र बीमा कोष मजबुत देखिए पनि खुद नाफामा भने अजोड इन्स्योरेन्स अघि देखिएको छ । अजोडले यस अवधिमा सबैभन्दा धेरै ३ करोड ६७ लाख रुपैयाँ रुपैयाँ खुद नाफा कमाएको हो । जनरल इन्स्योरेन्सको तुलनामा अजोडले ५ लाख रुपैयाँ खुद नाफा बढाएको हो।
यस अवधिमा जनरल इन्स्योरेन्सले ३ करोड ६२ लाख र सानिमाले २ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
- जगेडा कोषमा सानिमा अगाडि, बीमा कोषमा जनरल
सानिमा इन्स्योरेन्सको अन्य सूचक कमजोर देखिएपनि जगेडा कोष भने मजबुत देखिएको छ । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा सानिमाको जगेडा कोषमा ३ करोड ६६ लाख रुपैयाँ संचित छ । यो अन्य दुई कम्पनीको तुलनामा एक करोड रुपैयाँ भन्दा बढी हो।
यस्तै जनरल इन्स्योरेन्सको जगेडा कोषमा २ करोड ५७ लाख र अजोड इन्स्योरेन्सको जगेडा कोषमा सबै भन्दा थोरै २ करोड ४६ लाख रुपैयाँ मात्रै छ।
यता बीमा कोषमा भने जनरल इन्स्योरेन्सको सबै भन्दा धेरै २ करोड ८५ लाख रुपैयाँ संचित छ । यस्तै अजोड इन्स्योरेन्सको २ करोड ८३ लाख र सानिमा जनरलको १ करोड १५ लाख रुपैयाँ संचित छ।