शिवम् सिमेन्टसको लाभांश घोषणा

Oct 01, 2019 10:59 AM Tirtha Raj Poudyal



शिवम सिमेन्टस् (SHIVM) ले  गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको असोज १३ गते सोमबार बसेको बैठकले चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समितिको निर्णय अनुसार शिवम सिमेन्टसले आर्थिक वर्ष २०७५/०७६ को मुनाफा रकम मध्येबाट चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँको १५.७८९५ प्रतिशत अर्थात् ६९ करोड ४७ लाख रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्नेछ ।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको कार्तिक ८ गते राष्ट्रिय सभा गृहमा आह्वान गरिएको चौंथो वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै वितरण हुनेछ। शिवम सिमेन्टले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट पनि गत आवको जति नै लाभांश वितरण गरेको थियो।

चार अर्ब ४० करोड चुक्ता पूँजी रहेको शिवमको वितरण गर्नमिल्ने रकम ९३ करोड र शेयरधनी कोषमा तीन अर्ब २२ करोड रहेको थियो। सोही रकमबाट कम्पनीले लाभांश प्रस्ताव गरेको हो। चौंथो वार्षिक साधारण सभाका लागि कम्पनीले असोज २९ गते शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। यसअनुसार असोज २८ गते मंगलबारसम्म कायम रहने शेयरधनीले उक्त लाभांश पाउनेछन्।

 

शिवम् सिमेन्ट्सले गत आर्थिक वर्ष २०७५/०७६ मा अघिल्लो आवको तुलनामा ३६ करोड रुपैयाँले खुद नाफा बढाएर एक अर्ब ५० करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १६ पैसा कायम गरेको थियो।

शिवम् सिमेन्टले २०७४ फागुन ६ देखि १४ गतेसम्म सर्वसाधारणमा प्रिमियम सहित प्रतिकित्ता ३०० र स्थानीयबासिका लागि प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँका दरले कूल ५२ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको थियो । उक्त शेयर २०७४ चैत ५ गते नेप्सेमा सूचीकृत भई कारोबार हुँदै आइरहेको छ ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।