उन्नति लघुवित्तले मर्जरलाई अन्तिम स्वीकृती दिन डाक्यो साधारण सभा

Dec 23, 2019 10:28 AM Merolagani



उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड (UMB) र सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने प्रक्रियालाई अन्तिम स्वीकृती दिन उन्नतीले पुस २९ गते पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ।

लघुवित्तको साधारण सभा होटल पौवा, भैरहवामा बिहान साढे १० बजे शुरु हुनेछ। सभाले सहकार्य लघुवित्तसँग १ बराबर ०.७५ शेयर स्वाप अनुपातमा मर्ज हुने प्रस्तावलाई अन्तिम स्वीकृती दिनेछ। यसका साथै, सभाले सञ्चालक समितिले सिफरिस गरेबमोजिम गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ३८.६० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ २.०३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभाले सहकार्य लघुवित्तसँग मर्जरपश्चात कायम हुने चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, मर्जरपश्चात उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने, मर्जरपश्चात कम्पनीको शेयर संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारण समूहको २४.५५ प्रतिशत कायम गर्ने र कार्यक्षेत्र विस्तार गरी राष्ट्रियस्तरको वित्तीय संस्थामा स्तरोन्नति गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड ८२ लाख ७५ हजार रहेको छ। ३ करोड ४० लाख ७४ हजार बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड २३ लाख ४९ हजार पुग्नेछ।

सहकार्य लघुवित्तको गत साउनसम्मको कल इन एडभान्ससहितको चुक्ता पूँजी ३ करोड ६२ लाख ५० हजार रहेको छ। १ः०.७५ अनुपातमा सहकार्य लघुवित्तसँर्ग मर्जर पश्चात बनेको लघुवित्तको चुक्ता पूँजी १४ करोड ९५ लाख ३६ हजार पुग्नेछ। मर्जरपछि कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्कासन पश्चात लघुवित्तको चुक्ता पूँजी २९ करोड ९० लाख ७३ हजार पुग्नेछ।

साधारण सभा तथा लभांश वितरण प्रयोजनको लागि लघुवित्तले पुस १५ गते एक दिनका लागि शेयर दाखिल खारेज बन्द गर्ने भएको छ। यद्यपी, मर्जर प्रक्रियाका कारण लघुवित्तको शेयर कारोबार गत साउन १० गतेदेखि नै रोक्का रहेको छ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नतिले १५ जिल्लामा शाखा विस्तार गरेको छ। सर्लाहीमा केन्द्रीय कार्यालय रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी काम गर्दै आएको छ। उन्नतिले सर्बसाधारणमा आईपीओ बिक्री गरिसकेको छ भने सहकार्यले आईपीओ बिक्री गरेको छैन।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।