सामाजिक सुरक्षा योजनालाई प्रभावकारी कार्यन्वयन गर्ने श्रम मन्त्रीको प्रतिवद्धता

Jan 07, 2020 05:25 PM Merolagani



श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सामाजिक सुरक्षा कोषको योजनालाई प्रभावकारी कार्यान्वयन गर्ने बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आगामी तीन महिने कार्ययोजना सार्वजनिक गर्दै उनले कोषको योजनालाई प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्त्री यादवले हाल सम्ममा ११ हजार ९७८ रोजगारदाता कम्पनीका एक लाख ३५ हजार ६८३ श्रमिक सूचीकृत भएको जानकारी गराउँदै आगामी तीन महिनामा १५ हजार रोजगारदाता र थप एक लाख श्रमिक आवद्ध गराउने योजना रहेको बताए ।

मन्त्रालयले बढी भन्दा बढी रोजगारदाता र श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन रणनीतिक संचारसहित औद्योगिक करिडोरहरूमा प्रर्बधन कार्यक्रमहरु संचालन गर्ने तयारी गरेको जनाएको छ ।

आर्थिक क्षेत्रका आधारमा उद्योग प्रतिष्ठानहरुको वर्गीकरण गरी रोजगारदाता र श्रमिक समेतको सहभागितामा १२ वटा त्रिपक्षीय अन्तरक्रिया एंव सामाजिक सम्बादका कार्यक्रमहरु संचालन गर्ने मन्त्रालयकाे तयारी छ ।

यस्तै कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले स्वास्थ्य सेवा सुविधाको लागि हस्पिटलहरुसँग एमओयु गर्ने काम भइरहेको जानकारी गराए । कोषलाई प्रदेशस्तरमा श्रम कार्यलयहरुसंग समन्वय गरेर सचेतना कार्यक्रमहरुलाई जोड दिने उनको भनाई छ ।

हाल सम्म कोषमा सूचीकृत श्रमिकहरुबाट ३८ करोड ५३ लाख रुपैयाँ योगदान रकम संकलन भएको कोषले जनाएको छ ।