सामाजिक सुरक्षा कोषमा जान बैंक तथा वित्तीय संस्थाका सात शर्त

Dec 18, 2019 05:55 PM Merolagani



नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सामाजिक सुरक्षा कोषमा सूचीकृत निर्देशन दिएसंगै कोषमा सूचीकृत हुन सात शर्त राखेका छन् । बैंक तथा वित्तीय संस्थाहरुकाे छाता संगठनहरु नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैकर्स एशोसिएशन र नेपाल वित्तीय संस्था संघले संयुक्त रुपमा पत्र पठाएर राष्ट्र बैंक समक्ष सात शर्त राखेका हुन् ।

कोषकाे कार्यविधिमा रहेका कतिपय व्यवस्थाहरुले गर्दा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु असन्तुष्ट रहेको बैंकर्सहरुले राष्ट्र बैंकलाई लेखेको पत्रमा उल्लेख छ । बैंकर्सहरुले कार्यविधि संशोधनको लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र काेषलाई पटक पटक पत्राचार गरिसकेको पनि जनाएको छ ।

संचयकोषको रकम र उपदान वापतको रकम नपाएका श्रमिकहरुको हकमा मात्र अनिवार्य गरी अन्य श्रमिकका लागि स्वेच्छिक बनाए कोषको योजना प्रभावकारी हुने पत्रमा उल्लेख छ ।

योगदानकर्ताले हाल आफ्नो आयमा ३६ प्रतिशतसम्म कर तिर्ने र अवकास रकम लिँदा त्यही रकममा पुनः १५ प्रतिशत कर तिर्नु पर्ने विद्यमान व्यवस्थाले गर्दा कर्मचारीले ५१ प्रतिशतसम्म कर तिर्नु पर्ने वाध्यता रहेको पनि उल्लेख गरिएकाे छ । यस्तो दोहोरो करको व्यवस्था हटाउन उनीहरुले माग गरेको छन् ।

संचय कोषमा जस्तो  योगदान गरेको रकम कै मौज्दातको सुरक्षणमा आवश्यकता परेको वखत कर्जा सापटी लिन सक्ने सुविधा पाइरहेको खण्डमा सामाजिक सुरक्षा योजना अन्तर्गत यस सुविधाबाट योगदानकर्ताहरु वञ्चित हुन सक्ने भएकोले कर्मचारीहरुले पाइरहेका सुविधाबाट उनीहरुलाई वञ्चित गर्नु उपयुक्त नहुने बैंकर्सको बुझाई छ । अवकासको लागि श्रम ऐन अनुसार एकरुपता ल्याउनु पर्ने उनीहरुको सुझाव छ ।