खराब कर्जा उठाउन सफल भएपछि मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो

Aug 12, 2020 07:27 AM Merolagani



मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (MERO) ले गत आर्थिक वर्षको अन्त्यसम्ममा १६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। माइक्रोफाइनान्सको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४ लाख ६० हजार रुपैयाँ बढी हो।

सञ्चालन मुनाफा घटेपनि उल्लेख्य खराब कर्जा उठाउन सफल भएपछि माइक्रोफाइनान्सको खुद नाफा बढ्ने टेवा पुगेको हो। यसका साथै माइक्रोफाइनान्सको गैर सञ्चालन आम्दानी पनि बढेको छ।

समीक्षा अवधिमा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी १२ करोड ३६ लाख रुपैयाँ बढेर ५० करोड ४७ लाख पुगेको छ। तर, निष्क्रिय कर्जा बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा उल्लेख्य रकम छुट्याएका कारण माइक्रोफाइनान्सको सञ्चालन मुनाफा घट्न पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा माइक्रोफाइनान्सको सञ्चालन मुनाफा ५ करोड ७१ लाख रुपैयाँ घटेर १९ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा माइक्रोफाइनान्सको निष्क्रिय कर्जा २.४५ प्रतिशतविन्दु बढेर ३.६५ प्रतिशत पुगेको छ। जसका कारण माइक्रोफाइनान्सले सम्भावित जोखिम बापतको व्यवस्थामा अघिल्लो आर्थिक वर्षको तुलनामा साढे ५ करोड रुपैयाँ बढी रकम छुट्याएको छ। असार मसान्तसम्ममा माइक्रोफाइनान्सले ६ करोड २८ लाख रुपैयाँ खराब कर्जा संकलन गर्न सफल भएको छ। यसका कारण माइक्रोफाइनान्सको खुद नाफा बढ्न पुगेको हो।

८५ करोड ५१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३५ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्षको तुलनामा माइक्रोफाइनान्सको जगेडा कोष १६ करोड २२ लाख रुपैयाँ बढेको हो। चौथो त्रैमासको अन्त्यसम्ममा माइक्रोफाइनान्सले ३ अर्ब ९४ करोड ५१ लाख रुपैयाँ सापटी र १ अर्ब ५८ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८४ करोड २८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

सो अवधिसम्ममा माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९८ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ३२ पैसा कायम भएको छ। त्यसैगरी, माइक्रोफाइनान्सको मूल्य आम्दानी अनुपात ३५.५२ गुणा रहेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।