नबिलमा बंगलादेश बैंक गाभ्न राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति, ६ महिना भित्र एकीकृत कारोबार गर्ने गरी काम गर्न केन्द्रीय बैंकको निर्देशन

Mar 02, 2022 08:02 AM Merolagani

नबिल बैंक (NABIL) मा नेपाल बंगलादेश बैंक गाभ्नका लागि नेपाल राष्ट्र बैंकले सहमति दिएको छ। राष्ट्र बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्न सहमति दिएको हो।

आगामी ६ महिनाभित्र नबिल बैंक र नेपाल बंगलादेश बैंक (NBB) बीच एकीकृत कारोबार हुने भएको छ। बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंकले नबिल बैंकले बंगालादेश बैंकलाई गाभ्न अनुमति दिने निर्णय गरेसँगै दुई बैंकबीच एक्विजिसनमा जान बाटो खुलेको हो।

राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले नबिल र बंगलादेश बैंकलाई एक्विजिसनमा जानका लागि सैद्धान्तिक सहमति (एलओआई) दिने निर्णय गरेको राष्ट्र बैंकका एक उच्च कर्मचारीले बताए। ‘नबिलले बंगलादेश बैंकलाई गाभ्ने सम्बन्धि प्रस्ताव राष्ट्र बैंकको सञ्चालक समितिमा लगिएको थियो,’ उनले भने, ‘उक्त प्रस्ताव सञ्चालक समितिले पारित गरेको छ।’ योसँगै दुई बैंक एक्विजिसनमा जान बाटो खुलेको छ।

एलओआई पाएपछि ६ महिनाभित्र सबै मापदण्ड पूरा गरी एक्विजिसनमा गइसक्नुपर्ने कानुनी व्यवस्था छ। सोही व्यवस्था बमोजिम आउँदो ६ महिनाभित्र एकीकृत कारोबार भइसक्ने ती कर्मचारीले बताए।

गत पुस २९ गते नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

सहमति अनुसार नेपाल बंगलादेश बैंकको १०० कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी समझदारी भएको थियो। समझदारी पत्रमा नबिलका तर्फबाट उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए।

तर, सम्पत्ति र दायित्व मूल्यांकन (डीडीए) पछि शेयर अनुपात एकिन गर्न सकिने राष्ट्र बैंकका एक कर्मचारीले बताए। ‘वास्तवमा कुन अनुपातमा शेयर कायम हुने भन्ने विषयमा डीडीएपछि एकिन हुने छ,’ उनले भने, ‘डीडीएको रिपोर्ट नआउँदै त कुन अनुपातमा शेयर कायम गर्ने भन्ने निर्णयमा पुग्न कठिन हुन्छ।’ डीडीए रिर्पोटमा आएको भन्दा १० प्रतिशत तलमाथि गरी शेयर अनुपात मिलाउन सकिनेछ।

समझदारी सम्बन्धी जानकारी त्यति बेला नै नेपाल राष्ट्र बैंकलाई गराएका थिए। बैंक तथा वित्तीय संस्थाको संख्या कम गर्ने केन्द्रीय बैंकको नीतिलाई कार्यान्वयन गर्दै नबिलले नेपाल बंगालादेश बैंक प्राप्ति गर्न लागेको हो। यसअघि ग्लोबल आइएमई बैंकले जनता बैंकलाई प्राप्ति गरेको थियो।

वित्तीय स्थिरताका लागि बैंक तथा वित्तीय संस्थाका संख्या कम गर्ने नीति केन्द्रीय बैंकले लगातार अगाडि बढाइरहेको छ। सोही नीतिअनुसार प्राप्ति गर्नेलाई विशेष सुविधा प्रदान गर्ने व्यवस्था गरिएको छ।

तर, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच भएको मर्जरको प्रक्रिया रोकिएको छ। अन्तिममा आएर मर्जर भाडिएको थियो।

नबिल र बंगलादेश बैंकले कर्मचारी व्यवस्थापन तथा अन्य केही प्राविधिक विषयमा पनि छलफल गर्न थालेका छन्। कर्मचारी व्यवस्थापन दुबै बैंकका लागि चुनौतीपूर्ण भएको छ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि बैंकको प्राथमिक पूँजी ४३ अर्ब, चुक्ता पूँजी २२ अर्ब ५० करोड, कर्जा रकम ३ खर्ब र निक्षेप संकलन ३ खर्ब १४ अर्ब हुने जानकारी प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षरपछि गराएको थियो। त्यसैगरी, शाखा संख्या २५३ पुग्ने र ग्राहकको संख्या १६ लाख माथि हुने जानकारी गराइएको थियो।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।