दशैँपछिको पहिलो कारोबार दिन नेप्से सकारात्मक, भोल्यूम भने सामान्य घट्यो

Oct 15, 2024 03:17 PM Merolagani



दशैँपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। दशैँ अघिको अन्तिम कारोबार दिन सकारात्मक भएर बन्द भएको नेप्से, यस दिन पनि सकारात्मक भएर नै बन्द भएको हो।

मंगलबार नेप्से परिसूचक ३१.४८ अंक बढेर २६९९.६६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.९० अंक बढेको छ भने फ्लोट इण्डेक्स २.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०३ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन भोल्यूम भने घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ७६ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३०७ स्टकको ३५ हजार ६४८ पटकको कारोबारमा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार रुपैयाँ बराबरको ६४ लाख १७ हजार २६७ कित्ता शेयर खरिदबिक्री भएको छ। लगानीकर्ताहरु फेस्टिभ मुडमा नै रहेका कारण यस दिन कारोबार रकम घटेको हो।

यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन जानकी फाइनान्स र मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन मल्टीपर्पस फाइनान्सको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने समृद्धि फाइनान्सको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। यस दिन मिड सोलु हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ११४ रुपैयाँ १० पैसा घटेर १ हजार २६ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १८ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब ११ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.६१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकासबैंक, लगानी, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने यस दिन ०.२२ प्रतिशत घटेको छ।




comments powered by Disqus

सुन र चाँदीको मूल्यमा भारि वृद्धि

Oct 15, 2024 11:01 AM

असोज २९ गते, मंगलबार अर्थात दशैं पछिको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदीको बढेको छ ।