भोटेकोश–त्रिशूली बाढीपछिको तेस्रो कारोबार दिनसम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ८० अंकभन्दा बढीको गिरावट भएको छ। नेप्से परिसूचक घटेर २५१३ को तल्लो विन्दुसम्म ओर्लिएको छ। गत २०८१ को कात्तिकपछि बजारले २५०० को विन्दुलाई बलियो आधार बनाएको थियो। लामो समयको उतारचढाव र साइडवेज मुभमेन्टपछि पनि बजार यति तल्लो विन्दुमा झरेको थिएन। तर यसपटक विनासकारी बाढीका कारण यति तल्लो विन्दुमा ओर्लिदा लगानीकर्तामा डर उत्पन्न भएको छ।
सो विनाशकारी बाढी र पहिरो, प्राकृतिक विपत्ति मात्रै नभएर नेपालको जलविद्युत क्षेत्रलाई समेत तहसनहस बनाउने त्रासदी थियाे । सोहीकारण अधिकांश समय हाइड्रोपावर क्षेत्रमा सम्भावना देख्ने लगानीकर्ता अहिले त्रासमा छन्। विशेषगरी जलविद्युत समूहका कम्पनीहरूमा भारी गिरावट आएको छ। रसुवागढी, चिलिमे, साञ्जेन, मैलुङ खोला र माथिल्लो त्रिशुली जलविद्युत लगायतका राम्रा मानिएका परियाेजना बाढीबाट क्षति ग्रस्त भएका छन्। ती कम्पनीको शेयर मूल्यमा प्यानिक सेलिङ आएको छ। जुन स्वभाविक पनि हो। तर बाढीको प्रभाव नपरेका क्षेत्रका हाइड्रोपावर कम्पनीहरूको मूल्यमा समेत गिरावट आउनुले बजारमा कति ठूलो मनोवैज्ञानिक त्रास रहेको प्रष्ट पारेको छ।
अहिले बाढीले आयोजनाहरू पूर्ण रूपमा ध्वस्त बनाएकाले कम्पनीहरू अस्तित्वको संकटमा पर्ने त्रासमा लगानीकर्ताहरु छन्। तर, यथार्थ र भावनाबीच ठूलो भिन्नता छ। धेरैजसो आयोजनाको उत्पादन बन्द हुनुको मुख्य कारण आयोजनामा पुगेको क्षति मात्र नभई प्रसारण लाइनमा आएको अवरोध पनि हो।

विगतमा मान्डु हाइड्रो र अपरहेवा खोला लगायतका कम्पनीहरूले खेप्नु परेको संकट र त्यसपछिको पुनरागमनले क्षति बेहोरेर पनि अझै क्षमता बढाएर उठ्न सक्ने सम्भावनाहरु देखाएको छ। जसमा जलविद्युत आयोजनाको क्षतिको ठूलो हिस्सा बीमा कम्पनी र तिनका अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूले बेहोर्दा कम्पनीलाई ठूलो भार पर्दैन। साथै कम्पनीको कुशल व्यवस्थापनले पनि ठूलो भूमिका निर्वाहरु गरेको हुन्छ। नेपाल विद्युत प्राधिकरणको समेत लगानी रहेका रसुवागढी र चिलिमे जस्ता कम्पनीहरूमा सरकारको प्रत्यक्ष चासो रहने भएकाले यिनीहरू छिट्टै पुनर्निर्माण हुनेमा लगानीकर्ताहरु विश्वास रहेको देखिन्छ।
नेपाली शेयर बजारले विगतमा योभन्दा ठूला धक्काहरू बेहोरिसकेको छ। विभिन्न कालखण्डमा राजनीतिक उथलपुथल, विनाशकारी भूकम्प र कोभिड–१९ को विपत्तिमा सुरुमा बजार ओरालो लागेको थियो। तर, केही महिनामै बजार सम्हालिँदै ऐतिहासिक उचाइ कायम ग-यो। २०७२ को भूकम्पपछि नेप्से सूचक घट्ने अनुमान विपरित नयाँ बुल रन सुरु भयो। पुनर्निर्माणको अभियान, बैंकहरूको पुँजी वृद्धि र बजारमा बढेको तरलताले नेप्सेलाई माथि पु-याएको थियो। सो अवधिमा वित्तीय क्षेत्रको सूचक ३० देखि ४० प्रतिशतसम्म बढ्नु यसकै परिणाम थियो। अहिले पनि बाढीपछिको पुनर्निर्माणले बजारमा नयाँ उत्साह ल्याउने आधारहरू तयार भइरहेको लगानीकर्ता गोपाल स्वामीले बताए ।
पुनर्निर्माणबाट बजारले देखेको सम्भावना
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालै रोयटर्ससँगको अन्तर्वार्तामा बाढीपछिको पुनर्निर्माणका लागि करिब ५ अर्ब डलर (७ खर्ब ६० अर्ब रुपैयाँ) लाग्न सक्ने अनुमान गरेका छन्। यो खर्च मात्र नभएर अर्थतन्त्रमा हुने ठूलो पुँजीगत लगानी समेत हो। जब सरकार र दातृ निकायबाट पुनर्निर्माणका लागि ठूलो बजेट प्रवाह हुन्छ, यसले देशको अर्थतन्त्रलाई चलायमान बनाउने लगानीकर्ताहरुको बुझाई छ।
बाढी आएपछिका कारोबार दिनमा बजारमा पुनर्निर्माणसँग सम्बन्धित कम्पनीको मूल्यमा वृद्धि भएको छ। पुनर्निर्माणका लागि सिमेन्ट, डण्डी र अन्य निर्माण सामग्रीको माग उच्च हुने भएकाले शेयर बजारमा सूचीकृत उत्पादनमूलक तथा निर्माण क्षेत्रका कम्पनीहरूको सम्भावना रहेको स्वामीको भनाइ छ। ‘लगानीकर्ताले बजारबाट सधै भविष्यको सम्भावना खोज्छन्। यो बाढीले केही कम्पनीलाई क्षति पु-याए पनि समग्र निर्माण र पूर्वाधार क्षेत्रका लागि ठूलो अवसरको ढोका खोलेको छ,’ स्वामीले मेरोलगानीसँग भने।
विनाशकारी बाढीले बजारमा भएको गिरावट अस्थायी हो। जब पुनर्निर्माणका कामहरूले गति लिन्छन् र आर्थिक गतिविधि बढ्छ, बजार फेरि जुरमुराउने स्वामीको दाबी छ। यस्तो विनासकारी बाढीबाट सबै सकियो जस्तो लाग्नु स्वभाविक हो, तर संकटको बेला डराउने होइन, धैर्यतापूर्व रहनु पर्ने उनको सुझाव छ। प्रलयले क्षति पु-याएको घाउमा पुनर्निर्माणको मल्हम लगाउने र लय समात्ने छ । आजको प्यानिक सेलिङ भोलिको लागि पछुतो बन्न सक्नेमा लगानीकर्ता सचेत रहनु पर्नेमा उनको जोड छ।